काभ्रे-काठमाडौँ रुटका उत्कृष्ट चालकलाई १ लाख ५ हजार नगदसहित सम्मान

काभ्रेपलाञ्चोक । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनहरूले फागु पूर्णिमाको अवसर पारी आज आयोजना गरेको कार्यक्रममा उत्कृष्ट चालक, सह चालक तथा ज्येष्ठ यातायात मजदुरहरू लाई सम्मान गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल र पनौतीमा फरक फरक सङ्गठनहरूले आयोजना गरेको कार्यक्रममा काभ्रेपलाञ्चोक काठमाडौँ रुट भई सचालन हुने बसका १३ जना चालक तथा ८ जना सहचालकहरूलाई नगद रकमसहित दोसल्ला र चाँदीको तक्माले सम्मान गरिएको हो ।
सम्मानित हुनेहरू मध्ये पनौतीमा दुई र धुलिखेलका दुई दुई जना गरी चार जना ज्येष्ठ यातायात मजदुर रहेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन धुलिखेल रुट इकाईले २४ औ र २५ औ ज्येष्ठ यातायात मजदुर सम्मान अन्तर्गत २० वर्ष देखि सङ्गठनमा आबद्ध भई निरन्तर सक्रिय चालक कृष्णबहादुर रञ्जित र दीपक वैद्यलाई नगद १ लाख ५ हजार सहित सम्मान गरेको हाे ।
त्यस्तै, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन पनौती रुट इकाईले ज्येष्ठ यातायात मजदुर सदस्य राजेन्द्र न्यौपाने र रामकृष्ण सापकोटालाई नगद ५० हजारसहित सम्मान गरेको हाे ।
चालक दीपक ब्रम्हलवट, माधवनारायण घुल्लु, उमेश मानन्धर, निरोज बस्नेत, राजेन्द्र देशारले डेडतोला चाँदीको तक्मासहित ट्रफि प्राप्त गरेका छन् भने सह चालक दिपेश भुजेल, वासुदेव घिमिरे र सुवास तामाङलाई एक तोला चाँदीसहित ट्रफिले सम्मान गरिएको अध्यक्ष सुनिल धाँजुले जानकारी दिनुभयो ।
यस अघि सङ्गठनले चार जना मजदुरहरूलाई नगद १ लाख सहित सम्मान गरेको थियो । दुर्घटना नगराउने, अनुशासित, सङ्गठनमा निरन्तर सक्रिय र क्रियाशील मजदुरहरूलाई थप प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्षहरूले बताउनुभएको छ ।
धुलिखेलमा आयोजित १६ औ अधिवेशन तथा सम्मान कार्यक्रममा बोल्दै सङ्गठनका केन्द्रीय अध्यक्ष भिमज्वाला राईले मजदुर सङ्गठनहरूको आन्दोलन फिर्ता नभएर स्थगन मात्रै भएको बताउँदै सरकारको काम कारबाही र प्रतिबद्धता कार्यान्वयनका लागि मजदुर सङ्गठनहरू पर्ख र हेरको अवस्थामा रहेको जानकारी दिनुभयो ।
त्यस्तै, पनौतीमा आयोजित कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेले मजदुरहरूका तमाम समस्याका बाबजुद नागरिकहरूलाई सहज सेवा दिइरहेको बताउनु भयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रेशम बोहोरा, ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवाल, सङ्गठनका केन्द्रीय सदस्य कमल सापकोटा, बागमती प्रदेश उपाध्यक्ष वेदप्रसाद घिमिरे लगायतले आआफ्नो धारणा राख्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्