तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

झापा । भद्रपुर झापा गोल्डकपको पहिलो संस्करणको उपाधि उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ ।

मङ्गलवार भएको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाई ब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि रक्षा गरेको हो । जितसँगै आर्मीले नगद १३ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

उपविजेता बनेको मच्छिन्द्रले ७ लाखमा चित्त बुझाउनुपरेको छ । टाई ब्रेकरमा मच्छिन्द्रका रेजिन धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोलरक्षक समित श्रेष्ठले रोकेका थिए ।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुङ्गिएपछि थप १४ मिनेट अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाई ब्रेकरमा धकेलिएको थियो ।

खेलको ७३ औँ मिनेटमा आर्मीका सुदिल राई र मच्छिन्द्रका ओमोलाजा करिमले आपसमा झगडा गरेपछि रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । उनीहरू मैदान बाहिरिएपछि दुवै टोली १० खेलाडीमा सीमित भएको थियो ।

खेलमा उत्कृष्ट गोलरक्षक आर्मीका समित श्रेष्ठ, उच्च गोलकर्ता मच्छिन्द्रका सुजल श्रेष्ठ र चर्च ब्वाइजका आशिस चौधरी, उदीयमान खेलाडी मच्छिन्द्रका सौरभ राई, उत्कृष्ट प्रशिक्षक आर्मीका राजु तामाङ घोषित भए । उनीहरूले नगद २५ हजार पाएका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ भए । उनले नगद एक लाख रुपैयाँ पाए । विजेता र उपविजेतालाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पुरस्कार वितरण गर्नुभएको थियो ।

यसैबीच, आयोजकले लाइफ टाइम अचिभमेन्ट अवार्ड स्वरूप पूर्व फुटबलर गम्भीर राईलाई एक थान टिभिएस मोटरसाइकल प्रदान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button