तपाईँ सुन्दै हुनुहुन्छः

‘तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायक बनाउनेछु’

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायक बनाउने बताउनुभएको छ ।

file photo

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा २६ औँ दिलबहादुर रम्तेल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले विकास निर्माणका ठूला परियोजना र सुशासन मार्फत आफ्नो तेस्रो कार्यकाल आगामी पुस्ताले सम्झनलायक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

“नेपालको अहिलेको अर्थतन्त्रलाई अझ बढी सङ्कटतर्फ जान नदिने र सुधारतर्फ लैजाने साह्रै ठूलो दायित्व वर्तमान सरकारको काँधमा छ”, उहाँले भन्नुभयो, “सुशासन स्थापना गर्ने चुनौती पनि हाम्रो अगाडि छ मैँले त्यसको थालनी गरिसकेको छु ।” प्रधानमन्त्री दाहालले सुशासन र समृद्धिका लागि प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै संसद्मा आफूले गरेको प्रतिबद्धता पूरा गरेरै छोड्ने बताउनुभयो ।

उहाँले आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई महिना बित्दा नबित्दै अर्थतन्त्रमा सकारात्मक सुधारको सङ्केत देखा परिसकेको भन्दै यो नेपाल र नेपाली जनताका लागि खुसीको कुरा भएको बताउनुभयो । देशमा सुशासन स्थापना गर्न उच्च स्तरीय प्रशासनिक सुधार आयोग गठन गर्ने र अनावश्यक संरचना, जनशक्तिलाई हटाएर मितव्ययी बनाउने जस्ता गुणात्मक सुधारको थालनी सरकारले गरिसकेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रधानमन्त्री दाहालले अबको बाँकी जीवन सुशासन तथा समृद्धिका निम्ति र देशको विकासका निम्ति खर्च गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै त्यसका लागि सबै नेपाली जनताको साथ चाहिएको उल्लेख गर्नुभयो ।

फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले यही फागुन २५ गते हुन लागेको राष्ट्रपतिको निर्वाचन सर्वसम्मत गराएर राष्ट्रिय सहमतिको वातावरण कायम गर्न आफू लागि परेको बताउनुभयो । “अहिले पनि नेकपा (एमाले) सँग लगातार कुरा भइरहेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “२५ गतेसम्म जाँदा राष्ट्रपतिमा सर्वसम्मत भयो भने धेरै राम्रो हुन्छ, त्यो कोसिस पनि हामी गरिरहेका छौँ ।” उहाँले त्यसो हुन नसके पनि नयाँ राजनीतिक यात्रा स्थायित्व र विकासका निम्ति अझ सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले निर्वाचनमा मत माग्ने क्रममा गोरखाका कच्ची सडकलाई स्तरोन्नति गर्ने, कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरेअनुसार त्यसलाई कार्यान्वयन प्रक्रियामा लैजाने बताउनुभयो । उहाँले प्रधानमन्त्रीमा निर्वाचित भएपछि गोरखाका जनतालाई पहिलो पटक भेट्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । सोही अवसरमा उहाँले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलकी आमा चरीमाया रम्तेल र बुबा सेते रम्तेल लगायतका सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान समेत गर्नुभयो ।

विसं २०५२ फागुन १४ गतेका दिन सूर्यज्योति माविका शिक्षक वीरबहादुर गुरुङलाई तत्कालीन प्रहरीले गिरफ्तार गरेपछि शिक्षकलाई छुटाउन भन्दै विरोध प्रदर्शनमा उत्रिएका बेला प्रहरीले चलाएको गोली लागेर १० वर्षीय रम्तेलको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button