जनकपुर साहित्य महोत्सव सम्पन्न
जनकपुरधाम । जनकपुरधाममा तीन दिनसम्म चलेको जनकपुर साहित्य महोत्सव मिथिलासहित अन्तर्राष्ट्रिय क्षेत्रका चर्चित गायिका मैथिली ठाकुरको साङ्गीतिक कार्यक्रमसहित सम्पन्न भएको छ ।

जानकी मन्दिरको प्राङ्गणमा नभ मिथिला फाउण्डेशनको आयोजनामा भएको तीन दिवसीय जनकपुर साहित्य महोत्सवमा विभिन्न समसामयिक विषय, भाषा साहित्यका साथै सामाजिक तथा सांस्कृतिक विकृति, सामाजिक सञ्जालको प्रभाव, पर्यावरण र राजनीतिक अवस्थाका विषयमा वृहत् छलफल तथा विमर्श भए ।
अन्तिम दिनको कार्यक्रममा राजनीतिक विश्लेषक एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीका विषयमा संवाद भएको छ । समाजवादी चिन्तक प्रदीप गिरीले जीवन पर्यन्त सामाजिक परिवर्तनका लागि चाल्नुभएको कदमका विषयमा बहस भएको थियो ।

फागुन ११ गतेबाट शुरु भएको जनकपुर साहित्य महोत्सवको समापनमा मैथिली साङ्गीतिक कार्यक्रमको प्रस्तुति गर्नुभएका मिथिला क्षेत्रमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा पनि छाप बनाउनमा सफल हुनुभएकी मैथिली ठाकुरले मैथिलीको धार्मिक तथा पारम्परिक सांस्कृतिक गीतहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा भारतका प्रसिद्ध गायिका मैथिली ठाकुरलाई जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, उपप्रमुख किशोरी साह तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले सम्मान सहित उपहार प्रदान गर्नुभएको थियो ।
नभ मिथिला फाउण्डेशनका संरक्षक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका सदस्य मनिष कुमार झाको संयोजनमा भएको कार्यक्रममा तीन दिनसम्म विभिन्न क्षेत्रका विज्ञ, विशेषज्ञ तथा राजनीतिक क्षेत्रका चर्चित व्यक्तिहरू सहभागी भएर विभिन्न विषयहरूमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
चौथो चरणको जनकपुर साहित्य महोत्सवमा नव मिथिला फाउण्डेशनका अध्यक्ष स्वर्गीय अजित झाको नाउँमा स्थापना भएको यस वर्षको १ लाख ५ हजार राशिको पुरस्कार धनुषाका प्रसिद्ध गायक ललित कामतलाई प्रदान गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्