कलाकारहरूको कला युगौँ युगसम्म जीवित रहन्छ : मन्त्री मोदी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले कलाकारहरूको कला युगौँ युगसम्म जीवित रहने बताउनुभएको छ ।
नेपाल चलचित्र प्राविधिक सङ्घको २० औँ साधारणसभालाई उद्घाटन गर्दै मन्त्री मोदीले सो कुरा बताउनुभएको हो ।
कोही पनि मान्छेको आयु हजार वर्ष या सय वर्ष नहुने बताउँदै मन्त्री मोदीले भन्नुभयो, “कोही पनि मान्छेको हजार वर्ष आयु हुँदैन । तर, कलाकारहरूको कला युगौँ युगसम्म जीवित रहन्छ, त्यो युग युगसम्म बाँच्छ । लाखौँलाख वर्ष बाँच्छ । राजेश खाँण, अमरेश पुरी यो दुनियाँमा हुनुहुन्न तर आज पनि उहाँको चलचित्र सुपरहित छ । नारायण गोपाल आज यो दुनियाँमा हुनुहुन्न, तर पनि आज उहाँको गीत सङ्गीत कालजयी र सुमधुर लाग्छ ।”

चलचित्र क्षेत्रमा काम गर्नेहरुको जीवन जतिसुकै कठिन भए पनि इतिहासले त्यो कामको मूल्याङ्कन गर्ने मन्त्री मोदीको भनाई थियो । “तपाईँहरूले चलचित्रमार्फत समाजको चेतना प्रस्फुटन गर्दागर्दै कहिलेकाहीँ न राज्यले हेर्यो न व्यक्तिले हेर्यो, न हाम्रो उमेर रह्यो भन्ने लाग्न सक्छ” मन्त्री मोदीले भने, “तपाईँहरूको पनि नाम, गौरव र जीवनका बारेमा जब मान्छेहरूले पढ्छन्, तपाईँहरू प्रति सम्मान र गौरव गर्नेछन्, वास्तवमा तपाईँहरूको सम्पत्ति भनेको यही हो ।”
मन्त्री मोदीले श्रमसँग जोडिएका कुनै पनि व्यक्तिलाई सामाजिक सुरक्षासँग जोडिनुपर्छ भनेर आफूले यसअघि संसदमा कुरा उठाउँदै आएको स्मरण गराउँदै भने, “चलचित्र क्षेत्रका प्राविधिकहरूलाई सामाजिक सुरक्षासँग जोडाउनुपर्छ भन्ने मेरो स्पष्ट मान्यता छ, मैले सरकारको तर्फबाट गर्न सक्ने सहयोग गर्छु ।”

अहिलेको सरकारको प्रधानमन्त्री सर्वहारा, गरिब मजदुरको पक्षमा आन्दोलनको नेतृत्व गरेर आएको व्यक्ति भएको बताउँदै मन्त्री मोदीले श्रमिकहरूको हक हितका लागि सरकारले निर्वाह गर्नुपर्ने भूमिकामा कमी आउन नदिने विश्वास समेत व्यक्त गर्नुभयो । मन्त्री मोदीले हिरोलाई पनि हिरो बनाउने चलचित्रका प्राविधिकहरू पर्दा पछाडिका हिरो भएको बताउँदै राज्यले प्राविधिकहरूको श्रमको उचित मूल्याङ्कन र सम्मान गर्ने पनि बताउनुभयो ।
मन्त्री मोदीले निजामती अस्पतालमा तीनवटा पाटोलाई समेट्न पाए हुन्थ्यो भन्ने आफूलाई लागेको सुनाउँदै भन्नुभयो, “निजामती अस्पतालबाट अहिले निजामती सेवामा लागेकाहरूले मात्रै सेवा पाइरहेका छन् । त्यसमा चलचित्र क्षेत्र, राष्ट्रिय स्तरका खेलाडी र शिक्षकहरूलाई पनि ५० प्रतिशत छुट दिन पाए हुन्थ्यो भन्ने मलाई लागेको छ । त्यो कति गर्न सकिन्छ, यसमा मेरो प्रयास रहन्छ ।”







प्रतिक्रिया राख्नुहोस्