सल्यानमा ‘विवाह वारी २० वर्ष पारी’ नारामै सीमित
सल्यान । सल्यानमा उमेर नपुगी विवाह गर्नेको सङ्ख्यामा कमी आउन नसकेको पाइएको छ । सरकारी तथा गैरसरकारी निकाय बालविवाह विरुद्धका विभिन्न कार्यक्रम गर्दै आइरहेता पनि त्यसले सार्थकता पाउन सकेको देखिँदैन । विवाह वारी २० वर्ष पारी’ भनी नेपालको संविधानमा उल्लेख गरिए पनि सल्यानमा २० वर्ष नपुग्दै विवाह गर्नेको सङ्ख्या उच्च रहेको छ ।
कम उमेरमा विवाह गरी किशोरी अवस्थामै गर्भवती हुनेहरूको सङ्ख्यामा कमी आउन सकेको छैन । स्वास्थ्य सम्बन्धी ज्ञानको कमी, देखासिकी, गरिबी, कानुनी ज्ञानको कमी लगायतका कारण बालविवाहमा कमी आउन सकेको छैन ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार बालविवाह गर्ने १५ वर्षदेखि १९ वर्षका धेरै रहेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाभर ७ हजार २ सय ५७ महिला गर्भवती भएकोमा १ हजार ७ सय ५७ जना गर्भवती २० वर्षमुनिका थिए । यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ६ हजार १९ महिला गर्भवती भएकोमा १ हजार ५ सय ९५ जना गर्भवती २० वर्षमुनिका थिए । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार जना गर्भवती भएकोमा १ हजार ५ सय ९ जना २० वर्षमुनिका रहेका छन् ।
कार्यालयका प्रमुख दशरथ श्रेष्ठले जिल्लाभरिका स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने २० वर्ष मुनिका किशोरीहरूको सङ्ख्यामा कमी आउन नसकेको बताउनुभयो । वर्षेनी जिल्लामा २० वर्ष मुनिको गर्भ जाँच गराउन आउने किशोरीहरूको सङ्ख्यामा तुलनात्मक रुपमा कमी आए पनि अपेक्षाकृत रुपमा कमी आउन नसकेको उहाँको भनाइ छ । शिक्षित समुदायमा भन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका समुदायमा कम उमेरमा विवाह गर्ने चलन बढी रहेको उहाँले बताउनुभयो ।
नेपालको कानुनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ तर बालविवाह रोकथामका लागि बनाइएका कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको पाइँदैन ।
२० वर्ष भन्दा कम उमेरमा विवाह गरेमा त्यसलाई नेपालको कानुनले बालविवाह मान्ने गरेको छ । बालविवाह रोकथामका लागि स्थानीय सरकार र सङ्घ संस्थाले सामूहिक पहल गर्नु पर्ने जिल्ला समन्वय समिति उपप्रमुख असविर बुढाथोकीको सुझाव रहेको छ । विद्यालय स्तरबाट नै किशोर किशोरी शिक्षा र कानुनी शिक्षाको व्यवस्था गर्नु पर्ने उहाँको भनाई छ ।
सानै उमेरमा विवाह गर्दा महिला हिंसा तथा घरेलु हिंसाका घटनामा वृद्धि आउनुका साथै सम्बन्ध विच्छेदका घटना पनि बढ्दै गएको बुढाथोकीको भनाई छ । उहाँले भन्नु भयो ‘लहडै लहडमा विवाह गर्छन् । पछि गएर सोच्ने बुझ्ने हुन्छन् । मन मिल्दैन, त्यस बेलासम्म बच्चा बच्ची पनि भइसकेका हुन्छन् । मन नमिलेपछि सम्बन्ध विच्छेद गर्छन् । जसले नाबालकको भविष्य समेत जोखिममा पर्छ ।’







प्रतिक्रिया राख्नुहोस्