परम्परा जोगाउन सामूहिक गुन्द्री बुनाई

स्याङ्जा । पछिल्लो समय रेडिमेट सामाग्रीको प्रयोगले हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ ।
हाम्रो परम्परा र संस्कृतिमा प्रयोग हुने परालको गुन्द्री बुन्ने परम्परा पनि बिस्तारै हराउँदै जान थालेको छ । बढ्दो आधुनिकीकरण तथा सहरीकरणले मानिसहरू पुराना परम्परा छाड्दै जान थालेका छन् । गाउँघरमा पाहुना आउँदा, तथा दैनिक दिनचर्याका लागी प्रयोग हुने गुन्द्री बजारमा आउने प्लास्टिकका गुन्द्री तथा बस्नका लागि प्रयोग हुने विभिन्न कुर्चीहरूले हराउँदै जान थालेका छन् ।
सडक सञ्जालले ग्रामीण क्षेत्र जोडिएपछि ग्रामीण क्षेत्रमा समेत बजारीय सामानहरू पुग्ने गरेका छन् । तर गल्याङका महिलाहरू भने आफ्नो परम्परा जोगाउन एकजुट भएर लागेका छन् । महिलाहरूले एकै ठाउँमा सामूहिक गुन्द्री बुन्ने गरेका छन् । मंसिरमा सबै काम सकेपछि पुसबाट सामान्यतया: ग्रामीण क्षेत्रमा महिलाहरू गुन्द्री बुन्ने गर्छन् । आ–आफ्नो घरमा गुन्द्रीको तान लगाएर घर घरमै बुन्दै आएका महिलाहरू अहिले भने एकै ठाउँमा जम्मा भएर गुन्द्री बुन्दै आएका छन् ।
गल्याङ ११ बजे्रमा महिलाहरू सामूहिक रुपमा गुन्द्री बुन्दै आएका छन् । स्थानीय यामकुमारी गाहाले समूहमा गुन्द्री बुन्दा सजिलो हुने एकआपसमा सिप आदान प्रदान हुने बताउनुहुन्छ । घरमा एक्लैभन्दा दिदी बहिनीहरूसँगै समूहमा काम गर्दा निकै सजिलो भएको गाहाले बताउनुभयो । स्थानीय बुहारी पार्टीका अध्यक्ष तथा जगत्रशिला आमा समूहकी अध्यक्ष दिमाया सिंजालीले परम्परा जोगाउन सामूहिक गुन्द्री बुनिएको बताउनुभयो ।
परालको गुन्द्री देवकार्य, पितृ कार्यलगायत परम्परागत संस्कृतिका लागी शुद्ध मानिने भएकाले पनि यो गुन्द्री बुन्दै आएको सिंजालीले बताउनुभयो । सिंजालीले भन्नुभयो, “जाडो समयमा प्लाष्टिकको गुन्द्री भन्दा परालको गुन्द्री तातो हुन्छ । पूजा तथा विभिन्न धार्मिक कार्यमा समेत परालकै गुन्द्री प्रयोग गर्दै आएका छौँ ।”
पछिल्लो समय धेरै उत्पादनका लागी हाईब्रिट धान लगाउँदा पराल छोटो हुनाले चौडाई सानो भएको गुन्द्री बनाएको सिंजालीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला त हामीले पन्ध्र सत्र घरे गुन्द्री बुन्थ्येउँ । आजभोलि पराल छोटो हुँदा आठ दश घरे बनाउँछौँ । पाहुना आउँदा समेत गुन्द्रीमै बसेर खुवाउने परम्परा अझै पनि छ कुर्ची टेबल आए पनि पलेटी मारेर गुन्द्रीमा बसेर खाना खाँदा स्वास्थ्यको दृष्टिकोणले समेत निकै फाइदाजनक छ ।”
गाउँमै पाईने कच्चा पदार्थको प्रयोग गरी गुन्द्री बनाउँदा कच्चा पदार्थको यहीँ खपत हुने त बाहिर पैसा जानमा समेत रोकिने हुँदा गुन्द्री बनाउँदै आइएको उहाँको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्