तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार भण्डारीको पुस्तक ‘सत्ता सङ्घर्ष’ विमोचन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तिलाई केन्द्रबिन्दु बनाउँदा नेपालमा राजनीतिक अस्थिरताले निरन्तरता पाइरहेको बताउनुभएको छ । 

पत्रकार रामकृष्ण भण्डारीको सत्ता सङ्घर्ष पुस्तकको सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले सबैजसो राजनीतिक दल सत्तामा जान कसरत गर्ने तर सत्तामा पुगेर के गर्ने भन्ने विषय चाहिँ छायामा पर्ने गरेको बताउनुभयो । 

उहाँले सत्ता सङ्घर्षमा ३० वर्षमा २८ सरकार बन्दा सत्ताको खेल कसरी खेलिएको भन्ने स्पष्ट चित्र उतारिएको र यस्तो खालको समस्या के कारण आउँछ भन्ने प्राज्ञिक ढङ्गबाट छलफल गरिनुपर्ने बताउनुभयो । 

नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले हालसम्म सधैँ अस्थिर सरकार र राजनीतिक अस्थिरताले नेपालीले ठूलो मूल्य चुकाउनुपरेको बताउनुभयो । 

उपमहासचिव ज्ञवालीले ३० वर्षमा २८ सरकार बन्ने अस्थिर राजनीतिले अहिले पनि निरन्तरता पाइरहेकाले राजनीतिक स्थायित्वको चिन्ता अझै पनि रहेको बताउनुभयो । 

राजनीतिक शास्त्री हरि शर्माले सत्ताको खेल र सत्ता परिवर्तन किन हुन्छ भन्ने आफै मतदातालाई नभनेर मतदातामाथि खेलबाड गरिरहेको बताउनुभयो । 

उहाँले राजनीतिक अस्थिरता र सत्ताको खेलको चित्र सत्ता सङ्घर्षमा उतारिएकाले यसलाई मनन गरेर दलले आफूलाई सुधारेर अघि बढ्नुपर्ने बताउनुभयो । 

एकीकृत समाजवादीका सचेतक गरिमा शाहले मुलुकलाई अस्थिरतामा लैजान राजनीतिक दलका नेताहरूले गरेका गल्तीहरू पुस्तकमा सङ्गृहीत गरिएको बताउनुभयो । 

पत्रकार रामकृष्ण भण्डारीले लेख्नुभएको पुस्तक सत्ता सङ्घर्षमा ३० वर्षमा २८ सरकार  बन्दा सरकार कसरी बनाइन्छन् ? कसरी ढल्छन् ? र अन्य शक्तिको चलखेल कतिसम्म हुन्छ भन्ने विषयहरू समेटिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button