तपाईँ सुन्दै हुनुहुन्छः

६ कर्मचारीका भरमा ३ जिल्ला हेर्दै सडक डिभिजन कार्यालय, काममा कठिनाइ

जुम्ला । जुम्लासहित मुगु र कालिकोट तीन जिल्लाको सडक निर्माणमा काम गर्दै आएको ‘सडक डिभिजन कार्यालय जुम्ला’ ले वर्षौंदेखि ६ जना कर्मचारीको भरमा काम गर्दै आएको छ ।

पर्याप्त प्राविधिक जनशक्ति नभई नहुने कार्यालयमा दरबन्दी अनुसारका अधिकतम कर्मचारी नहुँदा दैनिक कार्य सम्पादन कठिन भएको छ । जुम्लाबाटै कालिकोटको दैखोला, मुगुको नाक्चेलाग्ना नाका र जुम्ला–डोल्पा मौरेलेकसम्म पुगेर सीमित कर्मचारीले योजना स्टमेट, मूल्याङ्कन, ठेक्कापट्टा, अनुगमन निरीक्षणदेखि निर्माण व्यवसायीले आफै गर्नुपर्ने बिल भुक्तानी सम्मका काम समेत कर्मचारीले गर्नुपर्छ ।

एक जना कार्यालय प्रमुख, २ जना इन्जिनियर र ३ जना सव–इन्जिनियर गरी ६ जना कर्मचारी तीन जिल्लाका दर्जनौँ सडक योजना हेर्नुपर्ने बाध्यतामा छन् ।

सडक डिभिजन जुम्लामा ५ जना इन्जिनियरको दरबन्दी हो । हाल दुई जना कार्यरत रहेकोमा एक जना बिरामी छन् । भौगोलिक विकटता, हवाई सेवामा सहज पहुँचको अभाव, पर्याप्त काम नहुने जस्ता कारणले कर्णालीमा दक्ष प्राविधिक जनशक्ति आउन नमान्ने कार्यालय प्रमुख राजीव श्रेष्ठको भनाइ छ ।

कर्णालीका ठूला सडक लगायत दर्जन बढी सडक योजनाको काम गर्ने सडक डिभिजन कार्यालय, जुम्लामा कर्मचारी व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button