लुम्बिनीमा एमाले नेता लीला गिरीले मुख्यमन्त्रीकाे दाबी पेश गर्नुहुने

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले दाबी पेश गर्ने हुनुभएकाे छ । गिरीले आज सत्तारुढ ६ दलको समर्थनमा सरकारको नेतृत्वमा दाबी गर्न लाग्नु भएकाे हाे । प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी संभावना छ ।
प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेपनि एक दिन अगाडि नै गिरीले सत्तारुढ दलहरूको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्न लाग्नुभएको हो ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ । सत्ता साझेदार दलहरूमध्ये सबैभन्दा धेरै नेकपा एमालेका २९ सांसद छन् । यसैगरी माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४।४ तथा जसपा र जनमत पार्टीका ३।३ जना सांसद छन् । लुम्बिनीमा सत्तारुढ दलसँग ५३ सांसदहरु छन् । स्वतन्त्रबाट निर्वाचित २ सांसद माओवादीबाट टिकट नपाएर उठेका र एमालेले सहयोग गरेकाले उनीहरूको पनि सत्तारुढ दललाई समर्थन गर्ने सम्भावना छ ।
यसैगरी कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १।१ सांसद छन् ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा रहेको र मुख्यमन्त्री कार्यालय दाङमा रहेकाले मङ्गलवारको नियुक्ति बुटवलमै हुने बताइएको छ । प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्रीको नियुक्तिपछि मात्रै शपथ कहाँ गर्ने टुङ्गो लाग्ने जनाएको छ । प्रवक्ता चिरञ्जीवी पौडेलले नयाँ मुख्यमन्त्रीको नियुक्तिपछि सरसल्लाहमै शपथको स्थान तय हुने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्