जाडोबाट प्रभावित १ सय २० जनालाई कम्बल वितरण

बीरगंज । कठ्याङ्ग्रिँदो जाडो र शितलहरबाट प्रभावित १ सय २० जनालाई आज वीरगंजमा कम्बल वितरण गरिएको छ ।
रुंगटा वेल फेयर सोसाइटी र ग्रिन सिटी सामुदायिक केन्द्रको संयुक्त आयोजनामा जाडोबाट प्रभावितहरूलाई कम्बल वितरण गरिएको ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जप प्रकाश खेतानले जानकारी दिनुभयो ।
यसैगरी कठ्याङ्ग्रिँदो चिसोबाट बच्न साहिब दरबार सेवा संस्थानले वीरगञ्ज सडक पेटीमा रात बिताउन बाध्य विपन्नहरूलाई न्यानो कपडा उपलब्ध गराएको छ ।
संस्थानले सडक पेटीमा रात गुजार्न बाध्य भएकाहरूलाई गएराति सुतिरहेकै ठाउँमा पुगेर कम्बल उपलब्ध गराएको हो ।

वीरगञ्जको माइस्थान, घण्टाघर, आदर्शनगर, बसपार्क, छपकैया, विर्ता लगायतका स्थानमा खुला आकाशमुनि र सडक पेटीमा सुतिरहेका करिब ३० जनालाई न्यानो कपडा उपलब्ध गराइएको हो ।
बढ्दो शीतलहरीका कारण कठ्याग्रिदो चिसो बढेकाले चिसोकै कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले न्यानो कपडा उपलब्ध गराइएको संस्थानका अध्यक्ष उमेशलाल सहनीले बताउनुभयो ।

विशेष गरेर रिक्सा, ठेला चालक तथा विपन्न व्यक्तिहरू सडक पेटीमै रात गुजार्न बाध्य छन् ।
रातको समयमा चिसो झनै बढ्ने भएकाले सडक पेटी र खुला स्थानमा रात बिताउन बाध्य व्यक्तिहरूको जीवन रक्षाका लागि आफूहरूले न्यानो कपडा उपलब्ध गराउन थालेको संस्थानका रुपेशमान सिंहले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्