तपाईँ सुन्दै हुनुहुन्छः

जन्मदिनको खर्च कटाएर सामाजिक क्षेत्रमा सहयोग

अछाम । अछामको साँफेबगर नगरपालिका ७ रिडिकोट निवासी समाजसेवी ज्ञानेन्द्र ख्वाँसले जन्मदिनको खर्च कटाएर सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्नुभएको छ ।

समाजसेवी ख्वाँसले ४२ औँ जन्मदिनको अवसरमा वैद्यनाथ वेद विद्याश्रममा स्थापित वैदिक छात्रवृत्ति अक्षय कोष, वैद्यनाथ वेद विद्याश्रमका बटुकहरूलाई न्यानो टोपी वितरण गर्नुभएको छ । उहाँले वैद्यनाथ वेद विद्याश्रममा स्थापित वैदिक छात्रवृत्ति अक्षय कोषमा ११ हजार १ सय ५५ रुपैयाँ आर्थिक सहयोग र वैद्यनाथ वेद विद्याश्रमका बटुक र गुरुलाई ४० वटा न्यानो टोपी वितरण गर्नुभएको हो ।

यस्तै सुर्खेतको चौकुने गाउँपालिका ७ मा रहेको अनाथ आश्रमका १६ जना बालबालिकाका लागि खाद्यान्न, बाथ रोगका कारण थला परेका साँफेबगर नगरपालिका २ जाल्पादेविका नवीन आउजीलाई ५ हजार १ सय ५ रुपैयाँ र साँफेबगर नगरपालिका १० घुघुरकोटका मिर्गौला पीडित दिलीप नागर्जीलाई २ हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।

वैदिक छात्रवृत्ति अक्षय कोषलाई आर्थिक हस्तान्तरण कार्यक्रममा साँफेबगर नगरपालिका १, वैजनाथका वडाध्यक्ष नन्दबहादुर ठकुल्लाले अरूलाई बदल्नु छ भने राम्रा, असल र सकारात्मक पक्षको अनुसरण आफैबाट सुरुवात गर्नु पर्नेमा जोड दिनुभयो । जन्म दिनमा हुने फजुल खर्चलाई कटौती गदै सामाजिक क्षेत्रमा सहयोग गर्नु सकारात्मक कार्य भएको प्रतिक्रिया ठकुल्लाले दिनुभयो ।

वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष खड्क खड्काले जन्मदिनलाई परोपकारी कार्य र सामाजिक कार्यमा जोड्न सकेमा सबैभन्दा पुण्य कमाई हुने बताउनुभयो । आधुनिकता सँगसँगै जन्म दिन पछिल्लो समय भड्किलो र प्रतिस्पर्धात्मक बन्दै गएको समयमा जन्म दिनलाई रचनात्मक तरिकाले मनाउन उदाहरणीय काम भएको धारणा उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button