पाँचथरमा पाचौं सुम्हात्लुङ मिनि म्याराथन हुने
पाँचथर । पाँचथरमा पौष १४ गते पाचौं सुम्हात्लुङ मिनि म्याराथन हुने भएको छ ।
सुम्हात्लुङ क्षेत्रसहित जिल्लाका पर्यटकीय क्षेत्रहरूको प्रचार–प्रसार र पर्यटन प्रवद्र्धनका लागि आयोजित म्याराथुन कोभिड–१९ को प्रकोपका कारण विगतका दुई वर्ष स्थगन भएको थियो । यस वर्ष सुम्हात्लुङ परिसरमा आयोजित चासोक मेलाका अवसरमा म्याराथुन आयोजना गरिएको सुम्जिरी सुम्हात्लुङ आम्बेपज संरक्षण एवं विकास प्रतिष्ठानले जनाएको छ ।
म्याराथुन ९.५ किलोमिटर दूरीको हुनेछ । फिदिम नगरपालिका–४ सुम्हात्लुङ गढीबाट फिदिमका आहालगैरी, जोरसाल, बसपार्क, शनिवारे मन्दिर, हुलाकलाइन, जिल्ला प्रहरी कार्यालय हुँदै पुनः सुम्हात्लुङ पुग्ने म्याराथनको रुट तय भएको सुम्जिरी सुम्हात्लुङ आम्बेपज संरक्षण एवं विकास प्रतिष्ठानका दिलकुमार लावतीले जानकारी दिनुभयो ।
म्याराथनको विजेताले रु. ३० हजार, उपविजेताले रु. २० हजार, तृतीय स्थान हाँसिल गर्नेले रु. १० हजार र १० जनालाई सान्त्वना पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । पर्यटन प्रवद्र्धनका लागि चासोक मेलाका अवसर विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको मेला आयोजक समितिका दीपेन योक्पाङ्देनले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुस १३ गते सुरु हुने मेलामा पुस १४ गते सुम्हात्लुङ मिनि म्याराथुन र केलाङ (धाननाच) प्रस्तुतिको कार्यक्रम रहेको छ । यस्तै पुस १५ गतेबाट जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुनेछ ।पुस २२ गतेसम्म मेला लाग्ने छ । सुम्हात्लुङ क्षेत्र किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्र र एक ऐतिहासिक स्थलका रुपमा परिचित छ ।








प्रतिक्रिया राख्नुहोस्