तपाईँ सुन्दै हुनुहुन्छः

बजार नपाउँदा सल्यानका किसान अदुवा खेतीबाट विमुख हुँदै 

सल्यान । नगदेबालीको रुपमा रहेको अदुवाको उत्पादन घट्दै जान थालेको छ । 

सल्यान बोसे जातको अदुवाले समेत परिचित रहेको छ । तर उचित मूल्य नपाउनु तथा समयमै बिक्री नहुँदा कृषकहरू अदुवा खेतीबाट विमुख हुँदै जान थालेका छन् । 

जिल्लामा शीत भण्डारको व्यवस्था नहुँदा समेत अदुवाको व्यावसायिक खेती गर्ने किसानलाई बाली लगाउन छाड्नुपर्ने बाध्यता छ । किसान प्रतिकिलो २० देखि २५ रुपैयाँसम्म बिक्री गर्न बाध्य भएका छन् । 

यस वर्ष २० क्विन्टल अदुवा उत्पादन गरे पनि भने जस्तो मूल्य नपाएको शारदा नगरपालिका १४ माल्नेटाका कुलबहादुर विकले बताउनुभयो । माल्नेटामा मात्र व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका झन्डै ४ सय घरपरिवार किसान छन् तर उचित मूल्य नपाउँदा त्यहाँका किसानले  वर्षेनी अदुवा उत्पादन घटाउँदै लगेका छन् ।

विगत केही वर्षदेखि अदुवाले मूल्य नपाउँदा जीविका चलाउन समस्या भएको अर्का किसान रमेश वि.कले बताउनुभयो । उहाँले भन्नुभयो “२५३० रुपैयाँ किलोले हामीलाई के आम्दानी हुन्छ ? कसरी जीविका चलाउने ? यसैको खेती किसान गर्दागर्दै यत्रो वर्ष बित्यो ।”

अहिले बिक्री गर्ने सिजन चलिरहेकाले माल्नेटाका क्षेत्रका किसान बारीमा खनेको अदुवा सफा गर्ने र ग्रेडिङ गर्ने काममा व्यस्त छन् । तर अदुवाको मूल्यमा आएको निरन्तरको गिरावटले किसानमा निराशा छाएको छ । उत्पादित अदुवा खरिद गर्न स्थानीय व्यापारीले समेत आनाकानी गर्ने गरेका छन् । भारतले अदुवा निकासी रोक्दा किसानहरूले  मूल्य पाउन नसकेको स्थानीय व्यापारी ज्ञानदेव घर्तीले बताउनुभयो । भारतले निकासी खोल्दा किसानको अदुवाले मूल्य पाउने गरेको बताउँदै अर्को देशको भरमा  पर्दा समस्या भएको उहाँको भनाई छ । 

सल्यानमा यस वर्ष १ हजार ६ सय ७० हेक्टर क्षेत्रफलमा अदुवा लगाइएकोमा २७ हजार ४ सय ५० टन उत्पादन भएको छ ।

 यो गत वर्षको उत्पादनभन्दा १ हजार १ सय १९ टनले रहेको कृषि विकास कार्यालयको तथ्याङ्क छ । पाँच वर्षको बिचमा सल्यान अदुवा खेती ४ सय २० हेक्टरले घटेको छ भने ९ सय ४२ मेट्रिक टन अदुवाको उत्पादन घटेको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत कुमार बस्नेतले जानकारी दिनुभयो ।

जिल्लाबाट वार्षिक २१ हजार ६८ मेट्रिक टन अदुवा जिल्ला बाहिर निकासी हुँदा ३७ करोड ९२ लाख २४ हजार रुपैयाँ भित्रिए पनि बजारीकरणको अभावका कारण उत्पादन घट्दै गइरहेको उहाँको भनाई छ । 

जिल्लाबाट हालसम्म ५० प्रतिशत पनि अदुवा निकासी नभएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button