तपाईँ सुन्दै हुनुहुन्छः

महेन्द्र राय यादवले भोलि शपथ लिने

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनीयताको शपथ लिने हुनुभएको छ । 

उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उहाँलाई सङ्घीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ । 

यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउनुहुनेछ । 

सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराउने कार्यक्रम राखेको थियो । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा दुई सय ७० सांसदले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई आज शपथ लिन अनुपस्थित हुनुभयो । 

आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा हुनुहुन्छ । खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसक्नुभएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button