तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा शिक्षक हत्याकाण्डका अभियुक्त सार्वजनिक

बैतडी । बैतडीको पाटनस्थीत श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको  छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीले आज पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो । 

जिल्लाको पुर्चौंडी नगरपालिका–३ न्वादेउ घर भएका प्रजा बहादुर बोहरा र विमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो । 

कृष्ण माविमै कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत विमला छात्राबासमा बस्दै आएकी थिइन् । प्रजा र विमला श्रीमान्–श्रीमती हुन् । 

पुस १ गते राति शिक्षक विष्टले विमला बोहरामाथि अभद्र व्यवहार गरिरहेको देखेपछि उनका श्रीमानले  बिष्टको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । श्रीमतीलाई अभद्र व्यवहार गरेको झोकमा उनका श्रीमान् प्रजा बोहराले शिक्षक बिष्टलाई मुक्का हानेर सिँढीबाट ढलाएको प्रहरीको भनाई छ ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले भन्नुभयो “पुस १ गते साँझको समयमा विमला बोहरा शौचालय जान्छु भनी बाहिर निस्केकी र ढिलो गर्दा प्रजा बोहराले खोजी गर्दा शिक्षक विष्टले अँगालो हालेको देखेपछि प्रजा बोहराले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाए । त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरे ।”

छात्रबासमै हत्या गरेका बिष्टको शवलाई घटना लुकाउन छात्रवासको पछाडि दुवै जना मिलेर फालेको प्रहरीको अनुसन्धानले देखाएको छ । 

घटनाका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताउनुभयो । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

घटनामा अरू संलग्नताका विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताउनुभयो । 

शिक्षक बिष्टको शव पुस २ गते दिउँसो फेला परेको थियो । मृतकका आफन्तले उनको हत्या भएको आशङ्का गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । 

सो घटनाको अनुसन्धानका लागि सीआइबीको टोली समेत आएको थियो । शिक्षक बिष्टको हत्या भएकाले दोषी पत्ता लगाउन माग गर्दै आन्दोलन समेत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button