पोखराको पर्वतीय सङ्ग्रहालयमा आन्तरिक पर्यटकहरूको घुइँचो

कास्की । पर्यटकीय नगरी पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । प्राकृतिक रूपमा दर्जनौँ पर्यटकीय गन्तव्य रहेको यस पोखरामा पछिल्लो समयमा मानव निर्मित पर्यटकीय गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पनि थपिएपछि आन्तरिक एवं बाह्य पर्यटकहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिहरूको रीतिरिवाज, भेषभूषा, कला र संस्कृतिका साथै भौगोलिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले पोखरामा पर्वतीय सङ्ग्रहालय सञ्चालनमा ल्याइएको हो । ।हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने गरी पोखरामा स्थापना गरिएको पर्वतीय सङ्ग्रहालय पर्यटकहरूको रोजाइमा परेको छ । यस सङ्ग्रहालयमा अध्ययन अवलोकनका लागि आन्तरिक पर्यटकहरूको सख्या बढ्दो रुपमा रहेको सङ्ग्रहालयका गाइड विजय कुमार लामा बताउनु हुन्छ ।

नेपाल पर्वतारोहण सघंद्वारा खरिद गरेको १ सय रोपनी जग्गामा १० करोड लगानीमा निर्माण गरी २०६० साल माघबाट सञ्चालनमा आएको सङ्ग्रहालयमा हालसम्म २५ लाख भन्दा बढीले अवलोकन गरेको गरेका छन् । सङ्ग्रहालयमा अवलोकन गर्दा धेरै कुरा जानकारी प्राप्त गरेको शैक्षिक भ्रमणमा आउनु भएका विद्यार्थी कमल न्यौपाने बताउनुहुन्छ ।
सङ्ग्रहालयले मुख्य आम्दानीको स्रोत टिकटलाई बनाएको छ । सङ्ग्रहालयले टिकटलाई विभिन्न वर्गमा वर्गीकरण गरेर रकम उठाउने गरेको छ । जसमध्ये विद्यार्थीका लागि ५०, नेपालीका लागि १००, सार्क स्तरीय पर्यटकलाई २५० र बाह्य पर्यटकका लागि ५०० रुपैयाँ कायम गरेको छ ।

३ सय ६५ दिनै खुला रहने सङ्ग्रहालयले कोभिड पछि आन्तरिक पर्यटकहरूको सख्या ह्वातै बढेको छ । अहिले दैनिक ४ हजार सम्म पर्यटकहरू आउने गरेका छन् । हिमाली क्षेत्रको परम्परा मात्र हैन हिमाल चढ्दा अपनाउनु पर्ने सुरक्षा उपायहरूबारे समेत यहाँबाट जानकारी लिन सकी पर्यटक नीराजन कोइराला बताउनु हुन्छ ।
विश्वका हिमशृङ्खलाको उत्पत्ति, महत्त्व, यस क्षेत्रका वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थलगायतको प्रदर्शनी सङ्ग्रहालयमा रहेको छ । हिमाल पहाड र तराई समुदायको रीतिरिवाजबारे एकै ठाउँमा जानकारी लिन पर्यटकहरू यहाँ आउने गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्