तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा बदर मत बढ्यो: प्रमुख निर्वाचन आयुक्त थपलिया

सुनसरी । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले गठबन्धन भएका कारण मत बदर बढेको बताउनुभएको छ ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा दलहरूले गठबन्धन गरेर एकले अर्काको भोट मागेका कारण बदर मत बढेको उहाँले उल्लेख गर्नुभयो ।

संसद् सचिवालय प्रदेश १ मा शनिबार पत्रकार सम्मेलन मार्फत् थपलियाले आयोगले मतदाता शिक्षा दिए पनि दलहरूको गठबन्धनका कारण मत बदर भएको बताउनुभयो ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ मा ३३ लाख ९२ हजार ८६५ मतदाता रहेकोमा २० लाख ४९ हजार ५२३ मत खसेको थियो । जसमध्ये १९ लाख ५८ हजार ५७४ मत सदर भएको थियो थियो भने ९० हजार ९ सय ४९ मत बदर भएको थियो । समानुपातिकतर्फ भने २० लाख ४६ हजार ५४९ मत खसेको थियो । १८ लाख ९९ हजार १४४ मत सदर भएको थियो भने १ लाख ४७ हजार १०५ मत बदर भएको थियो ।

त्यसअघि थपलियाले प्रदेश १ प्रमुख पर्शुराम खापुङलाई प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुझाउनुभएको थियो ।

निर्वाचन परिणाम अनुसार ९३ सदस्यीय प्रदेशसभामा एमालेले ४०, काँग्रेसले २९, माओवादी केन्द्रले १४, राप्रपाले ६, नेकपा (एकीकृत समाजवादी) ले ४ र जनता समाजवादी पार्टीले १ सिट जितेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button