परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त गरी समृद्धि हासिल गर्नुपर्छ: मन्त्री पौडेल
ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आदिवासी जनजातिको सभ्यता, संस्कृति र परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त गरी समृद्धि हासिल गर्नुपर्ने बताउनुभएको छ ।

आदिवासी जनजाति आयोगले ललितपुरमा आज आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा उहाँले खोज, अनुसन्धान, सङ्घर्ष र निरन्तरताबाट सभ्यता र संस्कृतिको जगेर्ना गर्दै सीप, सिर्जनालाई ज्ञान क्षेत्रमा जोडेर समृद्धि हासिल गर्न लाग्नुपर्ने बताउनुभयो ।
थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आदिवासी जनजातिको ज्ञानको संरक्षण र संवर्द्धन गर्दै विविधतालाई सम्पत्तिको रूपमा स्वीकार गर्नुपर्ने बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो, “आदिवासी जनजातिका ज्ञान भाषा, संस्कृतिसँग जोडिएका विषय छन्, अहिले भाषा संरक्षण नै चुनौतीपूर्ण अवस्थामा छन् । हामीले भाषिक विकास र संरक्षणका लागि पाठ्यक्रममा भाषालाई समेट्नुपर्ने आवश्यकता छ ।”
राष्ट्रियसभाका सदस्य सुरेश आलेमगरले संवैधानिक अङ्गका रूपमा रहेको आदिवासी जनजाति आयोग आदिवासी जनजाति आन्दोलनको सफलता भएको बताउँदै यसले आफ्ना गतिविधिलाई राज्यको नीति र अभ्यासअनुसार आदिवासी जनजातिको संस्कृति, सभ्यता र ऐतिहासिक परम्पराको संरक्षण, प्रवर्द्धन र व्यापकतामा ध्यान दिने अपेक्षा गर्नुभयो ।
संविधानसभा सदस्य तथा गण्डकी प्रदेश विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले आदिवासी जनजाति आयोगले आदिवासी जनजाति आन्दोलनको मर्मअनुरूप उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै उनीहरूको पीडालाई बुझ्ने गरी काम गर्न सुझाउनुभयो ।
संविधानसभा सदस्य तथा आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीले आदिवासी जनजातिको ज्ञान, सीप र आर्थिक विकास गर्ने सन्दर्भमा सम्मेलनभित्र महत्त्वपूर्ण छलफल हुने विश्वास व्यक्त गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले ज्ञानहरूको पहिचानलाई संरक्षण गर्दै जान, अन्तर्निहित ज्ञान र सीपलाई पहिचान गर्दै सुन्दर फूलबारीलाई संरक्षण गर्दै जानु सबैको दायित्व भएको बताउनुभयो ।
खुला विश्वविद्यालयका उपकुलपति शिलु मानन्धर बज्राचार्यले आदिवासी जनजातिका भाषा, साहित्यको ज्ञानलाई प्राथमिकतामा राखेर संरक्षण गर्न औपचारिक शिक्षामा समावेश गर्नुपर्ने र यसका लागि नीति– निर्माण तहमा काम गर्नेहरूले ध्यान दिनुपर्ने बताउनुभयो । रोजगारी सिर्जना गर्न सक्ने खालको सिर्जनात्मक शिक्षा दिन पाठ्यक्रम तयार गर्नु आजको आवश्यकता रहेको पनि उहाँले औँल्याउनुभयो ।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासीहरूको ज्ञान, सीप, भाषा, कला, संस्कृतिको विकास गर्दै राज्यको मूलधारमा ल्याएर अथाह सम्भावनाको खोजी तथा सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले ९० प्रतिशत खाद्य परिकार आदिवासी ज्ञानमा आधारित रहेको पनि बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्