बाबुआमाको नाममा खुलेको बहुप्राविधिक शिक्षालयको राष्ट्रपति भण्डारीबाट उद्घाटन

भोजपुर । आफ्नो बाबुआमाको नाममा खुलेको बहुप्राबिधिक शिक्षालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु भएको छ । आफ्नो जन्मगाउँ भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर ५, मानेभञ्याङको आमबोटेमा निर्माण भएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयको उद्घाटन बुधवार राष्ट्रपति भण्डारीबाट भएको हो ।
आमा मिथिला पाण्डे र बुबा रामबहादुर पाण्डेका पाँच छोराछोरीमा ज्येष्ठ सन्तानका रुपमा राष्ट्रपति भण्डारीको जन्म २०१८ साल असार ५ गते भोजपुरको मानेभञ्ज्याङमा भएको थियो । दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न राष्ट्रपति भण्डारीको पहलमा ११ करोड ३९ लाख ७३ हजार आठ सय लागतमा मानेभञ्ज्याङमा बहुप्राबिधिक शिक्षालय बनेको हो । शिक्षालय निर्माणका लागि राष्ट्रपतिले ३७ रोपनी र उहाँको आफन्त परिवारबाट १८ रोपनी जग्गा प्रदान गरिएको थियो ।
शिक्षालयका लागि एकेडेमिक भवनका साथै छात्राका लागि होस्टेल, स्टाफ क्वाटर, कम्प्युटर ल्याब, प्रयोगात्मक कक्षा भवन लगायत संरचनाहरू निर्माण भएको छ । राष्ट्रपतिको पहलमा आफ्नै गाउँमा बहुशिक्षालय निर्माण भएपछि स्थानीयमा समेत उत्साह छाएको छ । पहिलो चरणमा बाली विज्ञान पठनपाठनका लागि शिक्षालयले भर्ना समेत खुलाई सकेको छ ।








प्रतिक्रिया राख्नुहोस्