तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयका बेथिति न्यूनीकरणको अभियानमा तातोपानी

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाका सामुदायिक विद्यालयमा देखिएका विभिन्न बेथितिहरूलाई न्यूनीकरण गर्न विद्यालय सुधार अभियानमा जुटेको छ । विद्यालय शिक्षालाई व्यवहारिक र सरकारी लगानी अनुसार उपलब्धी हासिल गर्न अभियान थालेको छ । विद्यालयको शैक्षिक,भौतिक तथा शिक्षक विद्यार्थीको अवस्था बुझी आगामी योजना बनाउने लक्ष्य अनुसार विद्यालय सुधार अभियान थालिएको हो । 

अभियान अन्तर्गत विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान गर्न, शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यालयमा हुने अनियमितता रोक्न र सामुदायिक विद्यालयमा विद्यार्थीको पहुँच वृद्धि गर्न विद्यार्थीको टाउको गन्न थालेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताउनुभयो । 

उहाँले भन्नुभयो,“विद्यार्थी कम भएपनि खाजा रकम बढी जाने । कतै विद्यार्थी कम शिक्षक बढी । कतै शिक्षक कम विद्यार्थी कम हुने समस्या देखियो । जसले शैक्षिक क्षेत्र धरासयी बनेको छ । वर्षेनि शिक्षा क्षेत्रमा लाखौँ रकम खर्चिएपनि अपेक्षित उपलब्धी देखिएको छैन । शिक्षा क्षेत्रमा हुने बेथिति अन्त्य गर्न विद्यार्थीको टाउको गन्ने अभियान थालेका हौ ।”

मंसिरको अन्तिम साता सामुदायिक वार्षिक परीक्षा सञ्चालनमा हुने र वार्षिक परीक्षामै विद्यार्थीको एकिन तथ्याङ्क लिनकै सहज हुने भएकोले टाउका गन्ने काम थालेको हो । अधिकांश विद्यालयले नक्कली विद्यार्थी देखाएर खाजा रकम र छात्रवृत्ति अनियमितता गरेको गुनासो बढेपछि तातोपानी गाउँपालिकाले प्रत्येक विद्यालय अवलोकन, तथा विद्यार्थीका टाउका गन्न परेको अध्यक्ष चौलागाईको भनाई छ । 

यस्तो छ तातोपानीका विद्यालयको अवस्था

अनुगमनका क्रममा तातोपानी गाउँपालिका–५ श्रीनगरको आधारभूत विद्यालयमा कक्षा ४ मा ८ जना छात्रा मात्रै अध्ययनरत रहेको पाइएको छ । यस्तै वडा ६ रावतवडा स्थित बसन्त आधारभूत विद्यालय कक्षा १ सम्म स्वीकृत छ । कक्षा १ मा ८ जना भर्ना भएको हाजिरी रजिष्टरमा देखिन्छ । तर वार्षिक परीक्षामै ५ जना मात्रै उपस्थिति देखियो । 

इसिडि कक्षामा १९ जना भर्ना भएको हाजिरी रजिष्टरमा उल्लेख छ, परीक्षामा १० जना मात्रै उपस्थिति भएको प्रधानाध्यापक हरिप्रसाद चौगालाईले बताउनुभयो । उहाँले भन्नुभयो,“यो टोलमा ३६ घरधुरी छन् । दरबन्दी शिक्षक १ जना, इसिडि शिक्षक १ जना र निजी शिक्षक १ जना गरी ३ जना शिक्षक र १ सहयोगी छन् ।”

तातोपानी गाउँपालिका–४ नियापानी स्थित ५ कक्षासम्म अध्ययन हुने विद्यालयमा पनि न्यून सङ्ख्यामा विद्यार्थीको उपस्थिति देखियो । १३५ घरधुरी रहेको नियापानी गाउँमा रहेको विद्यालयमा सबै कक्षा गरी ५० जना पनि विद्यार्थी उपस्थिति देखिएन । एक शिक्षिकाले भनिन,“अभिभावकलाई बालबच्चा विद्यालय पठाऊ भन्दा मान्दैनन् । धेरै जसो अभिभावकले बालबच्चा घरायासी काममै लगाउँछन् । छोराछोरी पठाउनु पर्छ भन्ने चेतना छैनन् ।”

यस्तै तातोपानी गाउँपालिका १, २, ३, ४, ५, ६ वडामा रहेको आधारभूत विद्यालयमा विद्यार्थीको सङ्ख्या निकै न्यून रहेको छ । एउटा कक्षामा ४/५ जना मात्रै विद्यार्थीको उपस्थिति देखिन्छ । यसरी सामुदायिक विद्यालयमा रहेका कमीकमजोरीलाई सुधार गर्न विद्यालय सुधार अभियानले टेवा पुराउने पालिकाको आशा छ । 

तातोपानी गाउँपालिकाका आठै वडामा जम्मा २८ वटा सामुदायिक विद्यालय छन् । हप्ता दिन बढीको समय खर्चेर सबै विद्यालयको अनुगमन गरिएको तातोपानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरत शाहीले बताउनुभयो । 

उहाँले भन्नुभयो,“विद्यालयको अवस्था, खानेपानी, शौचालय, फर्निचरको उपलब्धता र शिक्षक शिक्षिकाको सङ्ख्याका विषयमा पनि अनुगमन भइरहेको छ, विशुद्ध सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर मजबुत बनाउन र विद्यालयमा हुने अनियमितता रोक्न यो अभियान सार्थक हुने विश्वास गरिएको छ ।”

निजी विद्यालयमा आर्कषण बढ्दो

निजी विद्यालय बोडिङ स्कुलका प्रभावका कारण सामुदायिक विद्यालयमा विद्यार्थी थाम्दै हैरान छ । सामुदायिक विद्यालयमा पढाई गुणस्तर नहुने गरेको भन्ने अभिभावकलाई बुझाई भएपछि ज्याला मजदुरी गरेरै भएपनि बोडिङ स्कुलमै पढाउने गरेका हुन् । यिनै कारणले गर्दा सामुदायिक विद्यालयमा शिक्षक हुने तर विद्यालय नहुने गरेका हुन् ।

बोडिङ स्कुलको पहुँच नभएका र धेरै विपन्न अभिभावकका बालबच्चा मात्रै सामुदायिक विद्यालयमा देखिने गरेका छन् । राज्यले नै गुणस्तर युक्त रुपमा सञ्चालनमा ल्याउने पर्ने शैक्षिक संस्थाहरू पछिल्लो समयमा निजीकरण हुँदै आएपछि सामुदायिक विद्यालयमा यस्तो समस्या आएको भन्ने नागरिकको बुझाई पनि छ ।

सामुदायिक विद्यालयमा तालिम प्राप्त शिक्षक हुन्छन्, भौतिक संरचना शौचालयदेखि खानेपानी, फर्निचर शैक्षिक सामग्री पनि हुन्छन् । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि सरकारी तथा गैरसरकारी संघ संस्थाले मोटो रकम पनि खर्चेका छन् । बोडिङ स्कुलमा विद्यार्थी ठेलमठेल हुन्छन् तर सामुदायिक विद्यालयमा निकै न्यून सङ्ख्यामा विद्यार्थीको उपस्थिति देखिने गरेको छ ।

तातोपानीमा भइरहेको अनुगमनले विद्यालयको समस्या पहिचान गर्ने तथा समाधानका उपाय नजिक पुग्न सघाउ पुर्‍याउने प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताउनुभयो । कम विद्यार्थी र शिक्षक धेरै भएका विद्यालय पनि भेटिएका छन्, अव दरबन्दी मिलान गर्ने विषयमा पनि छलफल हुने उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button