सल्यानमा धान उत्पादनमा वृद्धि

सल्यान । सल्यानमा यस वर्ष धान उत्पादनमा वृद्धि आएको छ । गत वर्ष बेमौसमी पानी पर्दा पाकेको धान कुहिँदा उत्पादन घटेकोमा यस वर्ष भने उत्पादन बढेको छ ।
चालु आर्थिक वर्ष २०७९/०८० मा ७ हजार ६६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसबाट ३० हजार ५ सय ६३ मेट्रिक टन धान उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
गत वर्षको भन्दा क्षेत्रफल घटेपनि उत्पादन भने बढेको कृषि विकास कार्यालयका लोक बहादुर रानाले जानकारी दिनु भयो । उहाँका अनुसार गत वर्षको भन्दा यस वर्ष २ हजार ६ सय ८५ मेट्रिक टन धान बढी उत्पादन भएको छ ।
गत आर्थिक वर्ष ७ हजार ८३ हेक्टर क्षेत्रफलमा २७ हजार ८ सय ७९ मेट्रिक टन धान उत्पादन भएको थियो । उन्नत जात, मौसम अनुकूल र रोक किरा नलागेका कारण धान उत्पादनमा वृद्धि आएको रानाको भनाई छ । गत वर्ष पनि धान उत्पादनको हिसाबले राम्रो उत्पादन भएपनि कार्त्तिकमा आएको बेमौसमी पानीले पाकेर काटेको धानमा क्षति गर्दा उत्पादनमा कमी आएको उहाँले बताउनु भयो ।
कतिपय स्थानमा आकाशे पानीको भरमा खेती गर्नुपर्ने भए पनि समयमै वर्षा हुँदा उत्पादन राम्रो भएको उहाँले बताउनुभयो । जिल्लाका मर्मपरिकाँडा, वनगाड जिउला, गरी जिउला, रेशम जिउला,कालीमाटी रामपुर, काल्चे , काप्रेचौर लगायत क्षेत्र धानको पकेट क्षेत्र मानिन्छ । यी क्षेत्रमा सिँचाइको आंशिक सुविधा रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्