तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस उपसभापति धनराज गुरुङ स्याङ्जाबाट प्रतिनिधि सभामा विजयी

वालिङ । स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरू विजयी हुनुभएको छ ।

मतगणनाबाट प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी हुनुभएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँले ३१ हजार चार सय ६६ मत प्राप्त गर्नुभएको छ । उहाँकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गर्नुभएको छ । यसअघि विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अर्याल यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले आठ हजार एक सय १३ मत प्राप्त गर्नुभएको छ । स्याङ्जा–२ (२) मा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई विजयी हुनुभएको छ । भट्टराईले १८ हजार सात सय ८८ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १७ हजार दुई मत प्राप्त गर्नुभएको छ । उहाँले एक हजार सात सय ८६ मतान्तर विजयी हुनुभएको छ ।

गुरुङ नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट उपसभापति पदमा निर्वाचित हुनुभएको हो । उहाँ संविधान सभा सदस्य पनि हुनुहुन्छ । वि.सं. २०३६ बाट राजनीतिमा प्रवेश गरेका गुरुङ २०५३ मा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सभापति हुनुभयाे । २०५४ सालमा तरुण दलका महामन्त्री र त्यसपछि कांग्रेस स्याङ्जा जिल्ला कार्यसमिति सदस्य भएका गुरुङ राजनीतिक सङ्घर्ष क्रममा विभिन्न समयमा पक्राउ र हिरासत भोग्दै आउनुभएका नेता हुनुहुन्छ ।

गुरुङले युवालाई प्रजातान्त्रिक उद्देश्यका लागि एक्यबद्ध गर्ने कुरामा विशेष रुचि राख्‍नुहुन्छ । गुरुङले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ प्रखर वक्ता पनि हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button