उद्यमशीलतासँगै नेतृत्व लिन अग्रसर सिञ्जाका महिला
जुम्ला । घरको चुलो चौकोमा सीमित सिञ्जाका महिला आजभोलि उद्यमशीलता तर्फ अग्रसर हुन थालेका छन् । महिलाले केही गर्न सक्दैनन्, आर्थिक रुपमा सक्षम बन्न सक्दैनन्, घरको काम महिलाको पेवा ठान्ने सामाजिक सङ्कीर्ण सोचलाई चिर्दै सिञ्जाका महिला उद्यमशीलतामा अग्रसर भएका हुन् ।

समूह सहकारीको सहुलियत ऋण तथा गैरसरकारी निकायहरूको सचेतनाले सिंजा क्षेत्रका महिलाले बाख्रापालन, भैंसीपालन, सिलाइकटाई, कुखुरापालन, तरकारी खेती, होटल व्यवसाय लगायतका आर्थिक उपार्जनका क्षेत्रमा अग्रसर भएका छन् ।
सिंजा २ चुलेल गाउँकी भोटेनी वडलाई ३/४ वर्ष पहिला घरको कामले फुर्सद हुँदै थियो । तैपनि, श्रीमानकै कमाइमा निर्भर हुँदा आफ्नो रहर पुरा गर्नु त परै जावस घरखर्च र छोराछोरीको पढाई खर्च जुटाउन मुस्किल हुन्थ्यो ।
वडले भन्नुभयो,“गाउँको लालीगुराँस पशुपन्छी महिला बहुउद्देश्यीय सहकारीले वित्तीय साक्षरतासँगै सहुलियत ऋण दिएपछि व्यवसायीक बाख्रा पालनमा जुटेकी छु । सहकारी पहिला निष्क्रिय थियो । क्याड नेपालले १५ लाख लगानी गरी सहकारीलाई क्रियाशील बनाएपछि गाउँमा महिला उद्यमशीलता फस्टाएको छ । उद्यमशीलतासँगै विकास निर्माणदेखि हरेक क्षेत्रमा महिलाले नेतृत्व लिन थालेका छौ । पहिला उपभोक्ता समितिमा महिला राख्ने चलन थिएन । अहिले हामी आफैँ घरदेखि समाज सम्मको विभिन्न नेतृत्व लिन अग्रसर छौँ ।”
प्लानको सहयोगमा क्याड नेपालद्वारा सञ्चालित बाल छिटो तथा जबरजस्ती विवाह न्युनिकरण परियोजना मार्फत सहकारीमा बिउ पुँजी स्वरूप १५ लाख लगानी गरिएको क्याडका अनुगमन अधिकृत दल बहादुर विश्वकर्माले बताउनुभयो ।
उद्यमी महिलाले न्यूनतम ३० हजारदेखि अधिकतम १ लाख ऋण लिएर उद्यमशीलता थालेका हुन् । गाउँमा महिलाको उद्यमशीलता देखेर पुरुषहरू छक्क मात्र परेका छैनन् महिलालाई अवसर दिएको खण्डमा असम्भव केही नहुने कुरा समेत बुझिसकेका सिञ्जाका रतन वड बताउनुहुन्छ । गाउँमा हुने विकास निर्माणदेखि नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित गराउन, क्याड नेपालको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाई छ ।
व्यवसाय प्रवर्द्धन, आर्थिक कारोबार सहज गर्न, उत्पादन वृद्धि तथा बजारीकरणमा टेवा पुग्ने गरी व्यावसायिक योजनाबारे पटक पटक तालिम दिने गरिएको आत्म सम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाले जनाएको छ ।
सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले सिंजा क्षेत्रका महिलाको सशक्तीकरण, उद्यमशीलता विकास र जीविकोपार्जनका लागि क्याड नेपाल लगायत अन्य निकायले गरेका राम्रा कामलाई पालिकाले निरन्तरता दिने बताउनुभयो । उहाँले विकास साझेदार संस्था क्याडले सिंजा क्षेत्रमा छाउपडी न्युनिकरण र महिला सशक्तीकरणमा उल्लेखीय काम गरेको उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्