तपाईँ सुन्दै हुनुहुन्छः

गोरखाका ४ वटा प्रदेशको प्रत्यक्ष तर्फको मतगणना सकियो

गोरखा । गोरखा जिल्लामा जारी मतगणनामा प्रदेशसभा तर्फका ४ वटा प्रदेशको मतगणना सकिएको छ ।

निर्वाचन क्षेत्र १ को प्रदेश १ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका कृष्ण प्रसाद धिताल १५ हजार ४५६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र थापाले नौ हजार ८२२ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा २ मा नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहनुभएका नन्द प्रसाद न्यौपाने १६ हजार २६२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मोहन भट्टराइले सात हजार ५३२ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार रहनुभएका राजेन्द्र पराजुलीले तीन हजार ५८८ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा १२ हजार ४११ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजु रानाले पाँच हजार ४१० मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा २ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे १६ हजार ८७२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बसन्त कुमार गुरुङले पाँच हजार ३६० मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ र २ को प्रत्यक्ष र समानुपातिक तर्फको मत गणना जारी छ । निर्वाचन क्षेत्र नम्बर १ मा कुल ४५६२५ मत गणना गर्दा नेपाली काँग्रेसका राजेन्द्र बजगाईँको रुखमा २६ हजार ३९० मत आएको छ । नेकपा एमाले रामशरण बस्नेत सूर्य चुनाव चिन्हमा १२ हजार २०२ , सुवर्ण रोकाय चुनाव चिन्ह घण्टीमा ३४०३ मत प्राप्त भएको छ । २२४४ मत बदर भएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा हालसम्म ४१ हजार मत गणना भएको छ । जसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गोलाकार भित्रको हँसिया हथौडामा २१ हजार ७४, राष्ट्रिय स्वतन्त्र पार्टी कवीन्द्र बुर्लाकोटी चुनाव चिन्ह घण्टीमा आठ हजार ६३, नेकपा एमाले सूर्य अब्दुस सलाम मिया पाँच हजार ६३७ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा ५३ हजार मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button