तपाईँ सुन्दै हुनुहुन्छः

दोलखाको आठ मतदान केन्द्रमा पुनः मतदानको माग सहित एमालेको उजुरी

दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ४ मैनापोखरी मतदान केन्द्र

दोलखा । दोलखामा ९४ मतदान स्थलको एक सय ९५ मतदान केन्द्रमा नै निर्वाचन सम्पन्न भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगा पौडेलले बताउनु भयो । 

बैतेश्वर गाउँपालिका वडा नम्बर २ को पुतलिकाठ मतदान केन्द्रमा भने करिब ५ सय मत खसेपछि विवाद भएको थियो । विवाद पछि केही समय स्थगित भएको उक्त केन्द्रको मतदान साँझ ६ बजेतिर सकिएको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो । 

बैतेश्वर गाउँपालिकाको वडा नम्बर ६ नाम्दु मतदान केन्द्रमा पनि विवादका बीच मतदान सम्पन्न भएको स्थानीयले बताएका छन् । उक्त केन्द्रमा आफ्नो पार्टीको प्रतिनिधि बिनै गठबन्धनले एकलौटी मत खसालेको एमालेको आरोप छ । 

नेकपा एमाले दोलखाले प्रदेश क अन्तर्गत बैतेश्वर गाउँपालिका वडा नम्बर १, २ र ६ को मतदान केन्द्र, तामाकोसी गाउँपालिका वडा नम्बर ३ को मतदान केन्द्र, मेलुङ गाउँपालिका वडा नम्बर ४ को मतदान केन्द्र र गौरीशङ्कर गाउँपालिका वडा नम्बर २ को मतदान केन्द्र तथा प्रदेश ख अन्तर्गत शैलुङ गाउँपालिका वडा नम्बर २ मतदान केन्द्र र कालिञ्चोक गाउँपालिका वडा नम्बर १ मतदान केन्द्रमा गठबन्धनले एकलौटी गरेकोले पुनः मतदानको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरले बताउनु भयो ।

दोलखाको प्रदेश १ अन्तर्गत गौरीशङ्कर गाउँपालिकाको वडा नम्बर २ जुँगु मतदान केन्द्र, जिरी नगरपालिका वडा नम्बर ९ को मतदान केन्द्र, बैतेश्वर गाउँपालिकाको वडा नम्बर १, २ र ६ को मतदान केन्द्र, तामाकोसी गाउँपालिका वडा नम्बर ३ को मतदान केन्द्र, मेलुङ गाउँपालिका वडा नम्बर ३ मतदान केन्द्र तथा कालिञ्चोक गाउँपालिकाको वडा नम्बर १ र ७ को मतदान केन्द्रमा विवाद भएको स्थानीय प्रशासनले जनाएको छ । 

विवादका कारण केही मतदान केन्द्रमा हवाई फायर समेत गर्नु परेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगा पौडेलले बताउनु भयो । मतदान सुचारु गराउने क्रममा २६ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button