‘अशक्त मतदातालाई पहिलो प्राथमिकता’
काठमाडौँ । देशभर एकै चरणमा आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अशक्त मतदातालाई पहिलो प्राथमिकतामा राखिएको छ । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक एवं अन्य फरक क्षमता भएका व्यक्तिलाई मतदानका लागि प्राथमिकताका साथ सहजीकरण गरिएको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौँ क्षेत्र नं ६ का बाल विद्यापीठ मतदान केन्द्रका मतदान अधिकृत रामकुमार पौडेल भन्नुहुन्छ, “मतदान केन्द्रभित्र आइसकेपछि अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायत अशक्तलाई लाइनमा नबसी पहिलो प्राथमिकताकामा राखेर मतदान गराउँछौँ ।”
मतदानमा धेरैभन्दा धेरै मतदाताको उपस्थितिका लागि राजनीतिक दल र उम्मेदवारले सहजीकरणका लागि पहल गर्ने विश्वास गरिएको उहाँले बताउनुभयो । मतदाता नामावली भएका सबै अपाङ्गता भएका, ज्येष्ठ नागरिक लगायतका सम्पूर्ण नागरिकले मतदान गर्न पाउनु समान अधिकार भएको उल्लेख गर्दै मतदान अधिकृत पौडेलले सहजीकरणका लागि विभिन्न राजनीतिक दल र उम्मेदवार लगायतका समूहले सहजताका लागि सोहीअनुसारको व्यवस्था गरेको जानकारी दिनुभयो ।
सोही सन्दर्भमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १०, नेपाली कांग्रेसका उम्मेदवार, पूर्व युवा खेलकुदमन्त्री राजेन्द्रकुमार क्षेत्रीले अशक्त व्यक्तिहरूका लागि सहज व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अपाङ्गता भएका मतदाताको प्रकारअनुसार व्हीलचिअर, गाडीको व्यवस्थासहित स्वंमसेवकको टोली उहाँहरूको सहजताका लागि खटाएका छौँ ।”
नेकपा (एमाले) नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नं ६(१)का उम्मेदवार निरेशलाल सिंह महर्जनले फरक क्षमता भएका व्यक्तिलाई मतदानमा सहजीकरणका व्यवस्था मिलाइएको बताउनुभयो । निर्वाचन आयोगले मतदान केन्द्रमा अपाङ्गता, ज्येष्ठ नागरिक, लगायतका अशक्त नागरिकलाई मैत्रीपूर्ण बनाउन समेत निर्देशन दिइएको छ ।







प्रतिक्रिया राख्नुहोस्