कैलालीमा मतदानका लागि कर्मचारीहरू मतदान केन्द्र निर्माण र सर्वपक्षीय छलफलमा व्यस्त
टीकापुर कैलाली । कैलालीमा मतदान गराउनका लागि खटिएका कर्मचारीहरू यतिबेला मतदान केन्द्र निर्माण र सर्वपक्षीय छलफलमा जुटिरहेका छन् ।
बिहीबार मतदान केन्द्रमा मतदान सामाग्रीसहित पुगेका उनीहरू शुक्रबारदेखि सर्वपक्षीय छलफल र मतदान केन्द्र निर्माणमा जुटेका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ को मोति मावि मोतिनगर मतदान स्थलका एक जना मतदान अधिकृत श्यामराज पाण्डेले अहिले आफूहरू मतदान केन्द्रको निर्माणमा जुटिरहेको र आजै साँझसम्म मतदान केन्द्र निर्माण गरिसक्ने बताउनुभयो ।
मतदान केन्द्रमा पुगेका कर्मचारीहरूले बिहीबारदेखि नै अनुसूची अनुसारका सूचना जारी गर्ने, शुक्रबारदेखि सर्वपक्षीय छलफल गर्ने, मतदान केन्द्र निर्माणका लागि आवश्यक सामाग्रीहरूको जोहो गर्ने र मतदान केन्द्र निर्माण गर्ने काम गरिरहेका छन् ।
टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर मावि मतदान स्थलका अर्का एक जना मतदान अधिकृत धर्मसिंह बटाला पनि आफूले सर्वपक्षीय छलफल सकाएको र अब मतदान केन्द्र निर्माणको काम जुट्ने र भोलि दिउसो १ः०० बजेसम्म मतदान केन्द्र निर्माण गरिसक्ने बताउनुहुन्छ ।
कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत तेजप्रकाश जोशी पनि आफ्नो निर्वाचन क्षेत्र भित्र रहेका सबै १२२ ओटै मतदान केन्द्रमा मतदान सामाग्रीसहित कर्मचारी र सुरक्षाकर्मी बिहीबार १ गते नै पुगिसकेका छन् ।
शुक्रबार २ गते केही मतदान स्थलहरूमा सर्वपक्षीय छलफल भइसकेको र केही मतदान स्थलमा छलफल चलिरहेको भन्ने खबर आएको र यसका साथै मतदान केन्द्र निर्माण गर्ने काम पनि धमाधम भइरहेको निर्वाचन अधिकृत जोशीले जानकारी दिनुभयो ।
५ लाख, ३५ हजार ५१४ जना मतदाता रहेको कैलाली जिल्लामा २३७ ओटा मतदान स्थल र तिनीहरूमा ६२९ वटा मतदान केन्द्र राखिएका छन् । अन्य ८ ओटा अस्थायी मतदान केन्द्र पनि स्थापना गरिएका छन् ।
यी सबै तोकिएका मतदान केन्द्रमा मतदान सामाग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगी त्यहाँ पुगेपछि गर्नु पर्ने कामको थालनी भइसकेको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टको भनाई छ ।
आउँदो आइतबार हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि कैलालीमा स्वयम् सेवकसहित ७ हजार ५०० कर्मचारी खटिएका छन् भने १८ सय १२ जना नेपाल प्रहरी र २८ सय १२ जना म्यादी प्रहरी खटिएका छन् ।
यसका साथै सशस्त्र प्रहरी बल र नेपाली पनि निर्वाचनको सुरक्षाका लागि खटिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्