तपाईँ सुन्दै हुनुहुन्छः

यस्तो छ भक्तपुरका दुई संघीय निर्वाचनको भावी परिदृश्य

भक्तपुर । आगामी पाँच वर्षका लागि देश हाँक्ने नेतृत्व चुन्ने महामेलाका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन एक हप्ता पनि बाँकी छैन । 

मङ्सिर ४ गते आफूले रोजेको नेतालाई मतदान गर्ने दिन नजिकिँदै गर्दा भक्तपुर क्षेत्र नं २ यस पटकको निर्वाचनमा निकै चर्चामा रहेको छ । भक्तपुरमा क्षेत्र नं १ मा भन्दा पनि क्षेत्र नं २ को चासो यहाँका बासिन्दाले लिइरहेका छन् । आम मतदाताको मुखबाट एउटै शब्द निस्कन्छ, यस पटक क्षेत्र नं २ मा कडा टक्कर छ । 

जिल्लामा नेता एवं राजनीतिक विश्लेषकसँगको कुराकानीका आधारमा यस क्षेत्रमा सम्भावित राजनीतिक परिदृश्य यस्तो देखिन्छ ।घरदैलो कार्यक्रम, टोल भेला, भेटघाटदेखि सामाजिक सञ्जालमा हुने प्रचारप्रसारसमेतमा  कांग्रेस र एमाले दुई समूहबीच निकै प्रतिस्पर्धा चलेको छ । 

क्षेत्र नं २ मा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, अन्य स्वतन्त्रबाट उम्मेदवारी दिए पनि आम मतदाता र जनतामा एउटै चासो छ, यस पटक भक्तपुर क्षेत्र नं २ मा कसले बाजी मार्ला ? मङ्सिर ४ नजिकिँदै गर्दा यहाँका चुनावी माहोल निकै तातेको छ ।२०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसलाई दोब्बर मतले पराजित गरेका एमालेका बस्नेतलाई यस पटक गठबन्धनको तर्फबाट उम्मेदवार रहेका थापा निकै चुनौती र प्रतिस्पर्धी भएर खडा भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट मानिएका कांग्रेस जिल्ला सभापति थापा र एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका बस्नेतबीचको प्रतिस्पर्धा भक्तपुरमा मात्रै नभई देशभरि नै चासोको विषय बनिरहेको छ ।

यसअघिनै काँग्रेसको भेलामा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति देउवाले ‘भक्तपुरबाट थापालाई जिताएर पठाउनुस्, म मन्त्री बनाउँछु’ भनेर वचन दिनुभएको छ ।  यता एमाले अध्यक्ष ओलीले पनि एमालेको सरकार बन्ने अवस्था सृजना भएमा बस्नेतलाई गृह वा भौतिक योजना मन्त्रालयजस्ता महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने बताएका छन् । 

भक्तपुर क्षेत्र नं २ मा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका गरी दुई पालिकाका मतदाता रहेका छन् । यस क्षेत्रमा अहिले ४४ हजार आठ सय ४४ पुरुष र ४७ हजार ६२ महिला तथा अन्य पाँच जना गरी कूल ९१ हजार नौ सय ११ मतदाता रहेका छन् ।

भक्तपुर क्षेत्र नं २ मा दुई पटक नेमकिपाका नेता सुनिल प्रजापतिले र दुई पटक नेपाली कांग्रेसका नेता लेखनाथ न्यौपाने र रामेश्वर ढुङ्गेल र २०७४ मा एमालेबाट बस्नेत विजयी हुनु भएको थियो ।

भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ मात्रै विभिन्न दल र स्वतन्त्रले गरी २५ जनाले उम्मेदवारी दिएका छन् । यद्यपि नेपाली कांग्रेस सभापति थापा र एमाले पोलिटब्यूरो सदस्य बस्नेतबीचनै कडा टक्कर रहेको निश्चित छ । 

यस निर्वाचनमा गठबन्धनको तर्फबाट कांग्रेसका थापा, एमालेबाट बस्नेत, जनता समाजवादी पार्टीबाट दिलबहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोहन केसी, नेपाल मजदुर किसान पार्टीबाट अनुराधा थापा मगर, मौलिक जरोकिलो पार्टीबाट लीलाबहादुर बानियाँ, हाम्रो नेपाल पार्टीबाट लोकेन्द्र पोखरेल, नेपालका लागि नेपाल पार्टीबाट राजेश बाडेले उम्मेदवारी दिनुभएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजु नापित, नेपाल विवेकशील पार्टीबाट शशिविक्रम शाह, राष्ट्रिय जनमुक्ति पार्टीबाट राजु श्रेष्ठ, नेसनलिस्ट पिपुल्स पार्टीबाट शिवलाल रोकाया, आमूल परिवर्तन मसिहा पार्टीबाट सन्तबहादुर लकाज, नेपाल आमा पार्टी (एकल चुनाव चिह्न) बाट इन्द्रनारायण न्हुछें श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट साजन विकले उम्मेदवारी दिएका छन् । 

त्यस्तै स्वतन्त्रबाट मीनाकुमारी बाला, सुमन कार्की, सुवर्ण थापा, मोक्टो तामाङ, रञ्जु केसी, प्रमीला थापा, दिनेश प्रजापति, चम्पा बोगटी, उमेश श्रेष्ठ र आनन्द कार्कीले उम्मेदवारी दिएका छन् । 

प्रतिनिधिसभा क्षेत्र नं २  अन्तर्गत भक्तपुरको मध्यपुर थिमि र सुर्यविनायक नगरपालिका पर्छन् । स्थानीय तह निर्वाचनमा मध्यपुर थिमिमा काँग्रेस गठबन्धनका उम्मेदवारले मेयर र उपमेयर दुवै जित्दा सुर्यविनायकमा एमाले उम्मेदवारले दुवै पद जितेका छन् । 

थापा र बस्नेत पार्टीको प्रदेशदेखि केन्द्रसम्म नेटवर्क भएका नेता मानिन्छन् । यहाँ पहिलो पटक २०७४ मा एमालेले झन्डा गाडेको थियो । एमालेका बस्नेतले कांग्रेसका ‘टुरिष्ट’ र पाका उम्मेदवार पूर्व सभामुख दमननाथ ढुङ्गानालाई ठूलो मतान्तरले पछि पार्नुभएको थियो । अघिल्लो निर्वाचनमा एमालेका बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दै गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ढुङ्गानाले १८ हजार ६ सय ८७ मत ल्याउनु भयो ।

तर यस पटक महेशलाई पहिलाको जति सजिलो नहुने निश्चित छ । पहिलो कारण एमाले फुटको असर यस क्षेत्रमा पनि परेको छ । प्रदेश क्षेत्र नं. २ बाट विजयी एमाले उम्मेदवार राजेन्द्रमान श्रेष्ठ लगायत केही नेता एकीकृत समाजवादीमा हाम फालेका छन् । राजेन्द्रमान पुराना तथा इमान्दार कम्युनिष्ट नेता मानिनुहुन्छ । उहाँले प्रदेशमा १४ हजार २ सय २९ मत ल्याएर विजयी हुनु भएको थियो ।नेमकिपा समेत भक्तपुर २ मा निर्णायक शक्ति मानिँदैन । उसले हम्मेसी तालमेलमा समेत विश्वास गरेको देखिन्न ।

हालै सम्पन्न स्थानीय निर्वाचनमा सूर्यविनायक नगरपालिकामा काँग्रेसले १३ हजार २ सय ३२ मत ल्याएर हार ब्यहोर्यो भने मध्यपुर थिमीमा १५ हजार ९८ ल्याएर जित निकाल्यो । अर्थात् दुई नगरपालिकाबाट काँग्रेसले २८ हजार ३ सय ३० मत प्राप्त गर्‍यो ।

एमालेले जितेको सूर्यविनायकबाट १४ हजार ७ सय ५८ मत प्राप्त गर्‍यो भने हारेको मध्यपुर थिमीमा ११ हजार ३५ मा चित्त बुझायो । यसरी हेर्दा यो क्षेत्रमा २५ सय ३७ मतले कांग्रेस अघि देखिन्छ ।फेरि यस पटक माओवादी केन्द्र र एकीकृत समाजवादी मात्र एमालेसँग होइन, अन्य २ दल समेत काँग्रेससँगको सहकार्यमा छन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका क्षेत्र पर्दछ । यो क्षेत्रमा विगतदेखि नै नेपाल मजदुर किसान पार्टीको एकल वर्चस्व रहेको छ । विपक्षमा रहेका सबै उम्मेदवार एकातिर उभिँदा समेत नेमकिपाकै पल्ला भारी हुने गर्छ । 

एमाले, काँग्रेस लगायत दलहरूले गरेका आन्तरिक सर्वेक्षणमा समेत यस्तै रिपोर्ट प्रस्तुत गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button