तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा एमाले र गठबन्धन बीच नै प्रतिस्पर्धा

गठबन्धनकाे तर्फका उम्मेदवारहरू क्रमशः गंगा कार्की प्रतिनिधि सभा, कुन्दनराज काफ्ले निर्वाचन क्षेत्र १, र बर्मा लामा निर्वाचन क्षेत्र २ ।
नेकपा एमालेको तर्फका उम्मेदवारहरू क्रमशः बालकृष्ण शिवाकोटी प्रतिनिधि सभा, नरबहादुर श्रेष्ठ निर्वाचन क्षेत्र १, र भरत बहादुर केसी निर्वाचन क्षेत्र २ ।

दोलखा । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति मङ्सिर ४ नजिकिँदै गर्दा दोलखाका उम्मेदवारहरू मत आफ्नो पक्षमा पार्न मतदाताको घर–घरमा पुगिरहेका छन् । दोलखामा यो पटकको निर्वाचनमा विगतमा जस्तो पालिका, क्षेत्र तथा जिल्ला स्तरीय आमसभा भन्दा पनि मतदाता भेटघाट र सामाजिक सञ्जालहरू मा प्रचार गर्न उम्मेदवारहरू व्यस्त देखिएका छन् । 

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दोलखामा मुख्य प्रतिस्पर्धा नेकपा एमाले र गठबन्धनका दलहरू बीच नै हुने देखिएको छ । दोलखामा प्रतिनिधि सभा सदस्य पदको लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी प्रदेश सभा निर्वाचनको लागि निर्वाचन क्षेत्र १ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १८ जनाले तथा निर्वाचन क्षेत्र २ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १३ जनाले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख शकुन्तला राईले बताउनु भयो । 

दोलखामा प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमालेबाट बागमती प्रदेश कमिटी सदस्य युवा नेता बालकृष्ण शिवाकोटीले उम्मेदवारी दिनु भएको छ भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गंगा कार्कीले उम्मेदवारी दिनु भएको छ । त्यसैगरी राप्रपाबाट पार्टीको केन्द्रीय विदेश विभाग सदस्य विजय खड्का, राप्रपा नेपालबाट केन्द्रीय सदस्य मिनबहादुर (नवराज) श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदिश खरेल लगायतले उम्मेदवारी दिनु भएको छ । तर मुख्य प्रतिस्पर्धा भने एमाले र गठबन्धनको तर्फबाट माओवादी केन्द्रको उम्मेदवार बीच नै हुने देखिन्छ ।

नेकपा एमालेबाट पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङको चर्चा भई रहेको बेला नयाँ अनुहारका युवा नेता बालकृष्ण शिवाकोटीले टिकट पाएपछि पार्टीका धेरै कार्यकर्ताहरू उत्साहित देखिएका छन् । सफल व्यवसायीक छविका शिवाकोटीको जितले दोलखाको विकासमा महत्त्वपूर्ण टेवा पुग्नसक्ने भएकोले स्वतन्त्र खालका मतसमेत प्राप्त हुने अपेक्षा एमालेको देखिन्छ । गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका गंगा कार्की प्रति नेपाली कांग्रेसका सबै उम्मेदवार सन्तुष्ट नभएकोले पनि त्यस्ता मत समेत प्राप्त हुने अपेक्षा एमालेको छ ।

दोलखामा एमालेबाट विभाजन भएको नेकपा एकिकृत समाजवादीको उम्मेदवार नभएकोले उनीहरूको धेरै मत एमालेले नै प्राप्त गर्ने अनुमान समेत गरिएको छ । 

एमाले उम्मेदवार बालकृष्ण शिवाकोटी अन्य कारणहरू ले भन्दा पनि दोलखामा एमालेको जनमत राम्रो रहेको, एमालेको नेता कार्यकर्ताको सक्रियता र बलियो सङ्गठनका कारण आफ्नो जित सुनिश्चित रहेको बताउनु हुन्छ । 

गठबन्धनका उम्मेदवार गंगा कार्की पनि दोलखामा नयाँ उम्मेदवार हुन् । इमान्दार छवि र अहिलेसम्म कुनै पनि लाभको पदमा नरहेका कार्कीलाई माओवादी केन्द्र तथा गठबन्धनका सबै दलले मतदान गर्ने अवस्था रहेकोले जित सुनिश्चित हुने माओवादी केन्द्रका कार्यकर्ताहरूको भनाई छ । 

दोलखामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रले उम्मेदवारी दिने भएपछि गंगा कार्कीसँगै पार्टीको केन्द्रीय नेता देवी खड्का र बागमती प्रदेश सरकारका बहालवाला मन्त्री विशाल खड्का समेत दाबेदार रहेका थिए । निर्वाचनमा खड्का दिदी–भाइको भूमिकाले पनि जितमा तलमाथि गर्नसक्ने एकथरीको आँकलन देखिन्छ । 

प्रदेश सभा १ मा एमालेबाट जिल्ला अध्यक्ष एवं २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेलुङ गाउँपालिकामा विजयी प्रमुख नरबहादुर श्रेष्ठ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य जुझारु नेता कुन्दनराज काफ्ले बीचनै मुख्य प्रतिस्पर्धा देखिएको छ । प्रदेश १ मा राप्रपाको रामबहादुर तामाङ, राप्रपा नेपालको सङ्घर्ष थोकर लगायत पनि उम्मेदवार रहेका छन् । प्रदेश १ मा जनमत एमालेकै बलियो भएकोले निर्वाचनको दिन अन्यथा अवस्था नभए एमालेले नै जित्ने धेरैको आँकलन छ । कांग्रेसका काफ्ले पनि युवा माझ लोकप्रिय रहेकोले उसैको जीत हुने कांग्रेस कार्यकर्ताहरूको दाबी देखिन्छ । 

प्रदेश २ मा एमालेको तर्फबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा भीमेश्वर नगरपालिका बाट निर्वाचित प्रमुख भरत बहादुर केसी, नेपाली काँग्रेसबाट नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामा, राप्रपाबाट जिल्ला अध्यक्ष राजन बहादुर शिवाकोटी, राप्रपा नेपालबाट शिवप्रसाद पकुवाल लगायत उम्मेदवार रहेका छन् । तर मुख्य प्रतिस्पर्धा भने एमालेका भरत बहादुर केसी र नेपाली कांग्रेसका बर्मा लामा बीच नै हुने देखिएको छ । 

एमालेका केसी सबैभन्दा बढी मत रहेको भीमेश्वर नगरपालिकाको प्रमुख भई सकेको, प्रदेश २ मा एमालेको सङ्गठन बलियो रहेको र नेपाली काँग्रेसको उम्मेदवार प्रदेश १ बाट ल्याइएकोले पनि आफ्नो पार्टीले जित हात पार्ने एमाले कार्यकर्ताहरूको दाबी छ । प्रदेश २ मा जनजातिहरू धेरै रहेको र चारवटा पालिकाको प्रमुख नै गठबन्धन पक्षका भएकोले नेपाली कांग्रेसका बर्मा लामाले जित्ने गठबन्धनका दलहरूको आँकलन देखिन्छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button