तपाईँ सुन्दै हुनुहुन्छः

उम्मेदवारहरुसँग खुल्ला बहस गरिने

अछाम । समुन्नत र समृद्धि सहितको विकासमा उम्मेदवारलाई जबाफदेही बनाएर उपयुक्त उम्मेदवार छनौट गर्न अछामका उमेदवारहरुसँग खुला बहस गरिने भएको छ ।

अछाम सरोकार मञ्चले ‘जनतासँग उम्मेदवार’ नामक बहसमूलक कार्यक्रम अछामका दुई स्थानमा सञ्चालन गर्ने भएको हो ।

उम्मेदवारहरूका चुनावी अभियानसँगै नागरिकलाई प्रत्यक्ष रूपमा जोडेर उपयुक्त एजेन्डासहित मतदान प्रक्रियामा मतदातालाई उपयुक्त व्यक्ति चुन्न सहजताका लागि खुला बहस सञ्चालन गर्न थालिएको मञ्चका महासचिव खेमराज ढुङ्गानाले जानकारी दिनुभयो ।

प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारसँग नागरिकले सार्वजनिक हितका विषयमा प्रश्नोत्तर हुने गरेर कार्यक्रम तय गरिएको छ । यसका लागि संघ र प्रदेशका उम्मेदवारसँगको समन्वयमा खुला बहसको मिति तोकिएको मञ्चका सदस्य सेतबहादुर भुलले जानकारी दिनुभयो ।

खुला बहस कात्तिक २७ गते क्षेत्र नं. १ को साँफेबगरको खुला मञ्चमा हुनेछ । उक्त खुला बहसमा उम्मेदवार शेरबहादुर कुँवर, झपटबहादुर बोहरा, राजन कुँवर, हिक्मत कुँवर तेजराज शर्मा लगायत प्रदेशसभाका उम्मेदवार सहभागी हुनेछन् ।

यस्तै क्षेत्र नं. २ मा भने मङ्सिर १ गते खुला बहस हुने तय गरिएको मञ्चले जानकारी दिइएको छ । मङ्गलसेनमा हुने खुला बहसमा उम्मेदवारहरू यज्ञबहादुर बोगटी, पुष्पबहादुर शाह, चन्द्रप्रसाद ढुङ्गाना, मिनबहादुर शाही, झंकरबहादुर शाहीलगायत प्रदेशका उम्मेदवारको सहभागिता हुनेछ ।

खुला बहसमा नागरिकहरूले आफ्ना प्रश्न, सुझाव उम्मेदवारहरूलाई सुनाउने छन् भने उम्मेदवारहरूले आफ्ना एजेन्डा तथा प्रतिबद्धता सुनाउने छन् । पायक पर्ने ठाउँमा आएर उम्मेदवारहरूसँग सार्वजनिक विषयमा प्रश्न, जिज्ञासा राख्न र सुझाव दिन सबैलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button