तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई धान भित्र्याउने चटारो

घरदेखि टाढाको बेँसी खेतमा धान झार्दै किसानहरू

सोलुखुम्बु । निर्वाचनको चहलपहल भइरहँदा सोलुखुम्बुका ग्रामीण किसानलाई भने खेतमा पहेलपुर भएर पाकेको धान काट्न र थन्क्याउन भ्याई नभ्याई भएको छ । 

जिल्लाका विभिन्न स्थानका खेतमा धान काट्नेको चहलपहल निकै बढेको पाइन्छ । जिल्लाको सल्यान, नेचाको तल्लो क्षेत्र, काँगेल, पञ्चन, जुबु, मुक्ली, देउसालगायतका स्थानमा धान थन्क्याउने चटारोले कृषकलाई मारामार छ । सिँचाइको सुविधा भएको रोगको प्रकोप नभएको क्षेत्रमा भने धानको उत्पादनमा सन्तोषजनक उत्पादन भएको अनुमान गरिएको छ । 

सल्यान–७ का तेजबहादुर बस्नेत निर्वाचनभन्दा खेतमा धान काट्न व्यस्त भएको बताउनुहुन्छ । “समयमा धान नथन्काएमा असिना आउन सक्छ र सबै वर्ष दिन खाने खेती स्वाहा हुन्छ” उहाँले भन्नुभयो । यस पटक दशैँ तिहार छिटो भएकाले चाडपर्व सकिए लगत्तै खेतमा धान काट्न थाल्नुपरेको उहाँको भनाइ छ । 

अर्का किसान देवीबहादुर राउत पनि वर्षभरिको लागि खाने बाली धान भित्र्याउन खेतमा व्यस्त हुन थालेको बताउनुहुन्छ । धमाधम एकैसाथ धान पाकेकाले काम गर्ने मानिसको अभाव भएको उहाँले सुनाउनुभयो । किसानलाई धान काट्नेसँगै पराल थन्काउने, हिउँदे आलु लगाउने कामको पनि भ्याइनभ्याई छ । 

घरदेखि टाढाको बेँसी खेतमा धान झार्दै किसानहरू

मौसम जुनसुकै बेला प्रतिकुल हुन सक्ने भएकाले असिना पानी पर्ने डरले भान भित्र्याउने समयमा किसान निकै चिन्तित हुन्छन् । पछिल्ला वर्षहरुमा चाँडो गरी धान लगाउन थालेकोले धान छिटै पाकेको पनि कृषकहरूको भनाइ छ । अलि ढिला रोपेको ठाउँमा भने धान अझै पाकेको छैन । 

विगतका वर्षको तुलनामा समयमा पानी परेको तथा धानमा लाग्ने रोगको प्रकोप खासै नदेखिएका कारण यस वर्ष धान उत्पादनमा केही वृद्धि भएको कृषकहरूको भनाइ छ । 

हाल सोलुखुम्बुमा एक हजार ६२५ हेक्टरमा धान खेती गर्ने गरेको तथ्याङ्क छ । जिल्लाका कृषकहरूले मोटा धानका रुपमा दुधेमार्सी, ताइचिन, मकवानपुरे, दोलाखे, पोखरेलीलगायत जातका धान र मसिनो धानहरू लगाउँछन् । 

घरदेखि टाढाको बेँसी खेतमा धान झार्दै किसानहरू

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button