तपाईँ सुन्दै हुनुहुन्छः

‘चुनावका बेला नेता भेटिन्छ, गाउँको समस्या ज्यूका त्युँ’

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका ३ स्थित विकट गाउँ सिकारी बासमा चुनावी अभियान तीव्र बनेको छ ।

नजिकिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार तथा तिनका कार्यकर्ताले गाउँ भरिभराउ बनेको छ । पर्साको क्षेत्र नं. ४ मा पर्ने यो गाउँमा प्रत्येक ५ वर्षमा नयाँ अनुहार देख्न पाउने भएकाले स्थानीयहरू निर्वाचन नजिकिएसँगै नेताहरू गाउँ पसेको बताउँछन् ।

चुनाव आएपछि मात्र आफ्नो बस्तीमा ५ वर्षमा पर्व आएजस्तो हुने बताउँदै बाँकी समयमा कोही पनि बस्तीमा पाइला नटेक्ने हुँदा चुनावले बस्तीमा रौनक ल्याएको स्थानीय राजेन्द्र चौधरीले बताउनुभयो ।

वीरगञ्जबाट करिब ५० किलोमिटर टाढा पर्ने यो बस्ती चितवन र पर्सा निकुञ्जको संगमस्थल पर्दछ । सिकारी बास पुग्न हुलाकी राजमार्गबाट करिब ७ किलोमिटर घना जङ्गल पैदल हिँड्नुपर्ने बाध्यता स्थानीयलाई छ ।

सडक मात्र नभई बिजुली, खानेपानी, स्वास्थ्य चौकीजस्ता आधारभूत सुविधाबाट वञ्चित यो बस्तीको जनजीवन कष्टकर रहेको छ ।

जङ्गलको बीचमा रहेको बस्तीमा सयौँ समस्याहरू छन् । चुनावको बेला मात्रै नेताहरू सबै समस्या समाधान गर्ने भन्दै भोट माग्न पुग्ने तर समस्या दशकौँदेखि ज्यूका त्युँ रहेको स्थानीयको आरोप छ । गाउँमा ५४ घरधुरी रहेका छन् ।

करिब २ सय ५० जनसङ्ख्या रहेको बस्तीमा कक्षा ५ सम्म पठनपाठन हुने प्राथमिक विद्यालय छ । त्यसभन्दा माथिको कक्षा पढ्न दैनिक १४ किमी पैदल वा साइकल यात्रा गरेर विजय बस्ती वा घ्याङ डाँडासम्म पुग्नुपर्ने बाध्यता रहेको स्थानीय सिकेन्द्र चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button