तपाईँ सुन्दै हुनुहुन्छः

३० हजार मेट्रिक टन युरिया मल वीरगञ्ज आइपुग्यो

वीरगञ्ज । गहुँ बालीका लागि आवश्यक पर्ने ३० हजार मेट्रिकटन युरिया मल भारतको विशखापटनम बन्दरगाहबाट आज वीरगञ्ज स्थित सिर्सिया सुख्खा बन्दरगाहमा आइपुगेको छ ।

कृषि सामग्री कम्पनीको एक रेल्वे र्‍याक युरिया मल भारतीय रेल्वे मार्गमा कोलकाता स्टेशन हुँदै वीरगञ्ज आइपुगेको कृषि सामग्री कम्पनीका वीरगन्ज प्रादेशिक कार्यालय प्रमुख चन्द्रप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

गत कात्तिक १७ मा विशाखापटनम बन्दरगाहबाट वीरगन्जका लागि उक्त रेल्वे र्‍याक हिँडेको थियो । भारतको आइपिएल कम्पनीले ग्लोबल टेन्डरबाट कम्पनीको ३० हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने ठेक्का पाएको र उसले सो मल तेस्रो मुलुकबाट खरिद गरी नेपाल ल्याएको चौलागाईले बताउनुभयो ।

नेपाल आएको कुल ३० हजार मेट्रिक टन युरिया मलमध्ये १२ हजार मेट्रिक टन वीरगन्ज, १० हजार मेट्रिक टन भैरहवा र ८ हजार मेट्रिक टन विराटनगर प्रादेशिक कार्यालयले पाउने चौलागाईंले बताउनुभयो ।

मल भित्रिएसँगै अब गहुँ बालीका लागि किसानहरूको माग पुरा हुने भएको छ । कृषि सामग्री कम्पनीको वीरगन्ज स्थित गोदाममा अहिले २ सय ५ मेट्रिक टन युरिया, ६ हजार १ सय ३८ मेट्रिक टन डिएपि र ५ सय ८ मेट्रिक टन पोटास मल मौज्दात रहेको चौलागाईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button