जुम्लाको सिंजा र कनकासुन्दरीमा नमुना मतदान

जुम्ला । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जुम्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।
एक नगरपालिकासहित सात वटा गाउँपालिका रहेको जुम्लाका ६० वटै वडामा स्वयंसेविका लगायतका जनशक्ति खटाएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । जस अन्तर्गत बदर भोटको सङ्ख्या न्यून गर्नका लागि मतदाता शिक्षा कार्यक्रम अन्तर्गत जुम्लाको सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा नमुना मतदान गरिएको छ ।
नमुना मतदानमा देखिएका कमी–कमजोरी सच्याउनुका साथै मतदानको प्रक्रिया, मतपत्रमा स्वस्तिक छाप र मतपेटिकामा मत खसाल्ने सम्मको अभ्यास गराइएको हो ।
जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौलागाईले बताउनुभयो ।
उहाँका अनुसार एक नगरपालिका र ७ गाउँपालिका रहेको यस जिल्लामा हालसम्म सिंजा र कनकासुन्दरी गाउँपालिकामा पहिलो पटक नमुना मतदान कार्यक्रम गरिएको हो । अन्य गाउँपालिकामा छिट्टै नमुना मतदान कार्यक्रम गरिने भएको छ । हालसम्मको नमुना मतदानमा अपेक्षा गरिएको भन्दा धेरै मत बदर भएको पाइएको छ ।
उहाँले भन्नुभयो, “बदर मतमा औँलाको छाप लगाइएको, एक मतपत्रको एक चिह्नमा स्वस्तिक छाप लगाउनुपर्नेमा धेरै चिह्नमा छाप लगाउने गरेको पाइयो । कनकासुन्दरी गाउँपालिकामा ४८ मत खसेकोमा १२ मत बदर भए । भने, सिंजा गाउँपालिकामा ३७ मत खसेकोमा ८ मत बदर भएको थियो ।”
चार वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकोले मतदाता शिक्षालाई जोड नदिए अपेक्षाभन्दा बढी भोट बदर हुने सङ्केत देखिएको छ ।







प्रतिक्रिया राख्नुहोस्