धनगढी बजारको मुख्य सडक विस्तारका लागि संरचना हटाउन शुरु

धनगढी । कैलालीको प्रदेश मुकाम रहेको धनगढी बजारको मुख्य सडक विस्तारका लागि भौतिक संरचना हटाउन शुरु गरिएको छ ।
धनगढी उपमहानगरपालिकाले मुख्य सडक ३० किलोमिटर फराकिलो बनाउने योजनासहित सडक क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन थालेको हो ।

धनगढी बजारको कैलाली पुलदेखि सेतो पुल अगाडीसम्म करिब सवा २ किलोमिटर सडक विस्तारका लागि सडक दायाँबाया क्षेत्रमा पर्ने संरचना हटाउने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ । हाल बजार क्षेत्रको एलएन चौक, अस्पताललाई र आसपास क्षेत्रका संरचना हटाउने काम भइरहेको छ।
धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले प्रारम्भिक चरणमा भौतिक संरचना हटाउन सहमति दिएका सरकारी निकाय, गैरसरकारी संस्था, मठमन्दिर तथा निजी घरधनीका संरचना हटाउन थालिएको बताउनुभयो ।

यो कार्यका लागि नगरवासीको साथ र सहयोग रहने भन्दै नगरप्रमुख हमालले संरचना हटाउन अटेरी गर्ने तथा अवरोधन गर्न खोज्नेलाई कानुन बमोजिम अघि बढेर त्यस्ता संरचना हटाइने बताउनुभयो ।
बजारको मुख्य सडक पुरानो र साँघुरो भएकाले ट्राफिक समस्या दिनहुँ बढ्दै गएको उल्लेख गर्दै उहाँले सडक फराकिलो बनाउनु अति आवश्यक देखिएकाले सडक विस्तारका लागि डिपिआर तयारी कार्य पूरा भएको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्