तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकीमा चुनाव लड्दै गरेका महिला उम्मेदवारका एजेण्डा पृथक्

पोखरा ।  यतिबेला प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी सरगर्मी निकै बढेको छ । 

उम्मेदवारहरू अहिले जनताको घरदैलोमा आ–आफ्ना एजेण्डा लिएर पुगेका छन् । 

कास्कीमा विभिन्न राजनीतिक दलबाट चुनाव लडेका उम्मेदवार हुन् वा स्वतन्त्र सबैका चुनावी एजेण्डा उस्तै उस्तै भइरहँदा गण्डकी प्रदेशबाट प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनाव लड्दै गरेका महिलाहरूका भने एजेण्डा पृथक् छन् । 

सबै उम्मेदवारले विकास, समृद्धि र सुशासनलाई पहिलो प्राथमिकतामा राख्दा महिला उम्मेदवारहरूले भने महिला सशक्तीकरणका साथै गरिब निमुखा वर्गको हकहितलाई पहिलो एजेण्डा बनाएका छन् । 

प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नं. २ का उम्मेदवार विद्या भट्टराईले सरकारमा महिलाको सहभागितालाई थप मजबुत बनाउँदै महिला हिंसाका अन्त्य तथा महिला सशक्तीकरणका कार्यक्रमहरू ल्याउने एजेण्डा ल्याउनुभएको छ । उहाँले हिंसा, आत्महत्या लाई रोक्नेदेखि महिला, गरिब निमुखा वर्गलाई उत्पादन र उद्यमशीलतामा जोड्दै रोजगारी प्रदान गर्ने एजेण्डा जोड दिनुभएको छ । महिलाको मुद्दा आम समुदायको मुद्दा भएको हुँदा यसलाई व्यवस्थित गर्न कानुन संशोधन तथा नयाँ नीति ल्याउने एजेण्डा उम्मेदवार भट्टराईको छ ।

उसो त प्रमुख राजनीतिक दलहरूले महिलाहरूलाई उम्मेदवार कमै बनाएका छन् । संघ र प्रदेशको निर्वाचनमा राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराएका महिला उम्मेदवारहरूले महिला पछि पर्नुमा व्यवहारगत, राजनीतिक र आर्थिक पक्ष कारक बनेको भन्दै आफ्ना लोकप्रिय एजेण्डा ल्याएका छन् । 

स्याङ्जाबाट गण्डकी प्रदेशसभा सदस्यका लागि निर्वाचन लड्दै गर्नुभएका उम्मेदवार सिता सुन्दासले आफु सधैँ दलित तथा निमुखा वर्गका समुदायको उत्थानको लागि लडिरहेको बताउँदै महिला तथा दलितको हक अधिकारको एजेण्डा आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ ।  

उहाँले समानताको ग्यारेन्टीलाई सुनिश्चित गर्दै संविधानमा लिपिबद्ध विषयलाई संस्थागत तथा व्यवहारमा उतार्ने बताउनुभएको छ । उहाँले महिलाले अंशबण्ड पाउनुपर्ने एजेन्डालाई विशेष जोड दिनुभएको छ ।

महिलालाई संविधानतः ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिए पनि व्यवहारमा भने त्यस्तो नभएको र यसका लागि पहिला महिलाहरूलाई नै सशक्त बनाउनुपर्नेमा उहाँहरूको जोड छ । 

अवसर दिए महिलाहरू इमानका साथ काम गर्न तत्पर र जुझारु छन् अनि उनीहरूले नमुना अनुकरणीय काम गरेका छन् भन्ने उदाहरण पेश गर्ने गरी महिला उम्मेदवार चुनावमा कस्सिएका छन् ।

गण्डकी प्रदेशमा प्रतिनिधिसभा निर्वाचनमा ३ र प्रदेशसभा निर्वाचनका लागि पाँच जना महिलाले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाका ८ जना महिला उम्मेदवार मध्ये नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ३÷३ उम्मेदवार उठाएको छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १÷१ उम्मेदवार उठाएका छन् । नेपाली काँग्रेसले एक जना पनि महिलालाई प्रत्यक्षको टिकट दिएको छैन ।

विशेष गरी उम्मेदवारका एजेण्डा कृषि, रोजगार, प्राविधिक शिक्षा विकास, समृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी नै छन् । चुनाव जित्न जनतामाझ जाँदा लोकप्रिय एजेण्डा बनाउने उम्मेदवार निर्वाचित भएपछि कति कार्यान्वयन गर्छन् वा गर्दैनन् त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button