कस्तो छ हलमा प्रदर्शन भइरहेको ‘लाखे’ ?

काठमाडौं I शुक्रवारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ । यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, वर्षा राउत लगायतका कलाकारहरूले अभिनय गर्नुभएको छ ।
छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्मलाई सम्राट् बस्नेतले निर्देशन गर्नुभएको हो । सिजन अर्यालले तयार गर्नुभएको कथा बदलाको भावमा छ ।
समीर महर्जन (सौगात) एक बैङ्कमा म्यानेजर हुँदा बैङ्किङ कसुरमा फसाइन्छ । त्यसले उहाँको श्रीमती सीमा (वर्षा) र छोरी सिमरन (सिस्टम)सँग अलग बनाउँछ । जेलमा समीरको भेट रकी (आर्यन) र मेटल (अनुप)सँग हुन्छ । त्यहीँबाट बैङ्क लुटेर आफूलाई फसाइएको बदला लिने योजना समीरले बनाउनुहुन्छ । यी दुईसँगै उहाँले ह्याकर प्रिन्स (सुशील) र अप्पा (रोहित)सँग बैङ्क लुटेर त्यहाँको पैसा एक जङ्गलमा लगेर काठमा लुकाउनु हुन्छ ।
नेपाल प्रहरीले यो अपराधी समाउन नसकेपछि सीआईबीका मनोज भण्डारी (अर्पण)लाई केस आउँछ । जनक अग्रवाल (प्रशान्त) को बैङ्कबाट लुटेको पैसा अचानक राखिएको ठाउँबाट हराउँछ । साथै, अप्पा पनि गायब भएपछि समीरले बुनेको योजनामा विभिन्न कठिनाइ आउँछ । रासस







प्रतिक्रिया राख्नुहोस्