तपाईँ सुन्दै हुनुहुन्छः

चुनावी घोषणापत्रमा सीमित लोकमार्ग : २५ वर्षमा पनि भएन कालोपत्रे

ढोरपाटन I राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडकको ट्र्याक खुलेको २५ वर्ष पुग्यो । सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग सम्झौता भएको पनि एक दशक पुग्नै लाग्यो तर अहिलेसम्म कालोपत्रे हुन सकेको छैन । सडक निर्माण भएपछि धेरै पटक निर्वाचन सम्पन्न भए । अहिलेसम्म भएका निर्वाचनमा उम्मेदवारले यो सडक कालोपत्रे गर्ने विषयलाई मुख्य ‘एजेण्डा’ बनाउँदै आए । तर काम भने भएन ।

आगामी ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्ररुपमा उम्मेदवार बनेकाले पनि घोषणापत्रको मुख्य बुँदामा यो सडक कालोपत्रे गर्ने उल्लेख गरेका छन् । हरेक निर्वाचनमा उम्मेदवारको प्रमुख एजेण्डा बन्ने यो सडक कालोपत्रे नहुँदा मतदाताले अहिले पत्याउनै छोडिसके । नेताहरूले भोट फुत्काउन आफूहरूको आँखामा छारो बर्साएको मतदाता बताउँछन् । 

काठेखोला गाउँपालिका–५ का स्थानीय मनप्रसाद कँडेल भन्नुहुन्छ, “सडक कालोपत्रे गर्ने कुरा जब चुनाव आउँछ, तब मात्रै उठ्छ, चुनाव सकिएपछि नेताले कुर्सी पाउँछन्, जनताले आहत, अहिलेसम्म कालोपत्रे गर्छौँ भनेर हाम्रो आँखामा छारो बर्साए, मत पाउनलाई अनेक तिकडम गरे, सडकको हालत उस्तै छ, अहिले पनि फेरि सडक कालोपत्रे गरेरै छोड्छौँ मत दिनु भन्दै आएका छन् ।”

उहाँले राष्ट्रिय गौरवको आयोजनाको हालत नै खराब हुँदा जनप्रतिनिधि गम्भीर नहुनुमा निर्माण कम्पनीसँग मिलेमतो हुनसक्ने बताउनुहुन्छ । सडक खुलेको साढे दुई दशक पूरा हुँदा पनि कालोपत्रे नहुँदा यात्रु, चालक र स्थानीयले निकै सास्ती खेप्नुपरेको उहाँको भनाइ छ । वर्षात्मा हिलो र हिउँदमा धुलोले गर्दा सडक छेउछाउकाले बसाइँसराइ गर्न बाध्य भएको स्थानीयवासी कँडेलको भनाइ छ ।

“हामीहरूले यो सडकको हिलो र धुलो खाएर बसेको २२÷२५ वर्ष भयो, हिउँदमा धुलोले घर नै देखिँदैन सबै धुलै धुलो हुन्छ, खानाको भागदेखि सुत्ने अछ्यानसम्म धुलो हुन्छ, बर्खामा हिलोले बाहिर निस्किनै नसक्ने हुन्छ”, उहाँले भन्नुभयो, “सडकको अवस्था यस्तो भएको अहिले होइन, यो त वर्षौं भयो, नेताहरूले काम गरिहाल्छौँ भनेको पनि कैयौँ वर्ष बित्यो तर हालत उस्तै छ, हिलो र धुलोका कारण यस क्षेत्रबाट धेरैले बसाइँसराइ गरिसके, धेरै विस्थापित भए, त्यो पीडा हामीलाई छ, नेतालाई जिते र पद पाए पुग्छ, पछि घुमेर आउनु पर्दैन ।”

स्थानीय सुरेश पुनले अघिल्लो पटक भोट माग्न आएका उम्मेदवारले छ महिनाभित्रै कालोपत्रे गर्छु भनेर आश्वासन देखाएको जनाउँदै जितेर एकपटक आफूहरूलाई भेट्नसमेत नआएको सुनाउनुभयो । उहाँले सडक बनाउने प्रतिबद्धता गरेपछि आफूहरूले मत दिएको र उक्त मत खेर गएको बताउनुहुन्छ । “अघिल्लो निर्वाचनमा एक जना नेताले मैले जिते भने सबैभन्दा पहिलो यो सडक बनाउनेछु भनेर हामीसँग प्रतिबद्धता जनाउनुभयो, चुनाव पनि जित्नुभयो तर काम गर्नु त टाढाको कुरा भयो जितेर एकपटक हामीलाई धन्यवादसमेत भन्न आउनुभएन”, उहाँले भन्नुभयो ।

उहाँले यो सडकका कारण वर्षौंदेखि हजारौँ यात्रुले दुःख पाउँदै आएको बताउनुभयो । पुनले आफूहरूले सडक कालोपत्रेका लागि बारम्बार निर्माण कम्पनी र नेताहरूलाई भने पनि कुनै सुनुवाइ नभएको गुनासो पोख्नुभयो । उहाँले आफूहरू भोट माग्नका लागि उम्मेदवारले अनेक आश्वासन दिएको भन्दै यस पटक सोचेर भोट हाल्ने मनशाय बनाएको बताउनुभयो ।

यस सडकमा यात्रा गर्दा हप्तामा गाडीको पार्टपुर्जा फर्नुपर्ने गाडी चालक लोकेन्द्र घर्तीले बताउनुभयो । उहाँले सडकमा निकै खाल्डाखुल्डी हुँदा यात्रु र गाडीवालाले सास्ती खेप्नुपरेको बताउनुभयो । घर्तीले यो सडकका कारण गाडी व्यवसायीले समयसमयमा दुक्ख पाइराखेको बताउनुभयो ।

“यो बाटोमा गाडी चलाउन लागेको १३ वर्ष बढी भयो, सुरुमा जस्तो अवस्था थियो अहिले पनि उस्तै छ, सडकका खाल्डाखुल्डी कसले पुर्ने, नाली कसले बनाउने रु, कयौँ पटक चालक मिलेर बाटो बनाउँदै यात्रा ग¥यौँ, त्यो सम्भव नहुँदो रहेछ”, उहाँले भन्नुभयो, “सडकको दुरावस्थाका कारण कैयौँ पटक गाडीको टायर पड्किएर, पत्ता भाँचिएर सडकमै बास बस्नुपरेको छ, यहाँका नेताहरू के भएका हुन्, चुनावका बेला छिटै कालोपत्रे गर्छौँ भन्छन्, अरू बेला वास्तै गर्दैनन् ।”

उपल्ला चौरदेखि अक्षेते–बिहुँ खण्ड कालोपत्रेका लागि २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेका थिए । तर निर्माण सुरु भएको यतिका वर्षसम्म कालोपत्रे हुन सकेको छैन ।

कूल एक हजार सात सय ७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै एक सय ४२ किमी पर्छ । तीमध्ये बागलुङमा अब करिब १८ किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी छ । बागलुङको ‘लाइफलाइन’सँग जोडिएको मध्यपहाडी लोकमार्ग जिल्लाको दुर्गम थान निसीखोला, ढोरपाटन, गलकोट र बडिगाडमा कालोपत्रे भइसकेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button