पाँच दलीय गठबन्धन आवश्यकता हो: डा महत
लेखनाथ । नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले पाँच दलीय गठबन्धन राजनीतिक आवश्यकता भएको बताउनुभएको छ ।
खेलकुद क्षेत्र समन्वय प्रचारप्रसार उपसमिति गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा डा महतले कांग्रेस एक्लै चुनाव लडेर भन्दा गठबन्धनबाट लड्दा धेरै सिट जित्न सकिने भएकै कारण निर्वाचनमा पाँच दलीय गठबन्धनलाई रोजेर अगाडि बढेको बताउनुभयो ।
निर्वाचनमा एक भोटले पनि ठूलो महत्त्व राख्ने उल्लेख गर्दै डा महतले जनतामाझ प्रचारप्रसार गर्न नसक्दा कांग्रेस पछि परेको बताउनुभयो । संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धन अगाडि बढेको उहाँको भनाइ थियो । प्राप्त उपलब्धिको रक्षा गर्दै यही संविधानलाई टेकेर समयको मागअनुसार संविधान संशोधन गर्ने काँग्रेसको बाटो रहेको डा महतले बताउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले काँग्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्ने उल्लेख गर्दै पार्टीमा युवा वर्ग र महिलालाई समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो । काँग्रेसले आफूले गरेका कामलाई प्रचारप्रसार गर्न नसक्दा पछि परेको उहाँको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले प्रशस्त मात्रामा सम्भावना भएको देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्न सक्यौँ भने देश समृद्धितर्फ अगाडि बढ्न समय नलाग्ने बताउनुभयो ।
कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पाँच दलीय गठबन्धनको साझा लक्ष्य समृद्ध नेपाल निर्माणका लागि रहेको बताउनुभयो । सो अवसरमा शुभराम बस्नेत, कर्मछिरिङ शेर्पा, वसन्त थकाली, रत्न श्रेष्ठ लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्