तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलामा धुमधामका साथ भातृ द्वितीय पर्व मनाइँदै 

जनकपुरधाम । मिथिलासहित तराई मधेसका जिल्लाहरूमा भातृ द्वितीय पर्व आज धुमधामका साथ मनाईदैछ ।

प्रत्येक वर्ष कार्तिक शुक्लपक्ष द्वितीया तिथिका दिन दाजुभाइको दीर्घायुको कामनासहित भातृ द्वितीय अर्थात् भरद्वितीया पर्व मनाइन्छ ।

यस दिन दिदीबहिनीहरूले भोको पेट स्नान गरेर नयाँ वा चोखो बस्त्र तथा गरगहना लगाएर दाजुभाइलाई आँगनमा गाईको गोबरले लिपपोत गरेर चामलको पीठार ( लेदो ) ले अरिपन पारेर त्यसमा काठको पिर्का राखेर हातमा चामलको पीठार लगाई, सिन्दूरको टिका लगाएर पान, मखान, सुपारी, मटरको दाना, भकुण्डोको फूल राखेर तीन पटक मन्त्रसहित पूजा गर्ने चलन रहेको छ ।

दाजुभाइको पूजा पश्चात् टिका लगाई मिष्ठान्न सहितको अन्य परिकारहरू खुवाउने चलन रहेको छ । दाजुभाइले पनि आफ्नो गच्छे अनुसारको उपहार तथा दान दिने गर्दछन् ।

आफ्नो दिदीबहिनी नहुने दाजुभाइले छिमेकी तथा नातामा पर्ने दिदीबहिनीहरूसँग न्यौत लिने चलन रहेको छ । यसका साथै बाहिर भएका दिदीबहिनीको घरमा दाजुभाइ आफै जाने गरेका छन् । आजको दिन साँझसम्म यो क्रम मिथिलाको गाउँ गाउँमा हुने गर्दछ ।

भातृ द्वितीया पर्व गर्नाले दाजुभाइमाथि आइपर्ने सङ्कटबाट सुरक्षा दिनुको साथै दीर्घ जीवन, सुख शान्ति तथा समृद्धि हासिल हुने मान्यता रहेको छ ।

यस अवसरमा जनकपुरधामको मिष्ठान्न भण्डारहरूमा लाखौँको मिष्टान्नको बिक्री वितरण हुने गर्दछ ।

यसैगरी, तराई मधेसका जिल्लाहरूमा पनि मखमली तथा सयपत्रीको मालाको कारोबार पनि भाइटिकामा अत्यधिक मात्रामा हुने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button