जनकपुरधाममा अन्नकुट पर्वको तयारी
जनकपुरधाम । प्रत्येक वर्ष कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिका दिन जनकपुरधाममा मनाइने अन्नकुट पर्वको तयारी मठ मन्दिरहरूमा भइरहेको छ ।
भगवान् श्रीराम लङ्कामा विजय हाँसिल गरेर माता सीता सहित अयोध्या फर्किनु भएको खुशीयालीमा जनकपुरधामको मठ मन्दिरहरूमा अन्नकुट पर्व मनाइँदै आएको रामानन्दीय वैष्णव संघका अध्यक्ष एवं जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णले जानकारी दिनु भयो ।
यसमा भगवानलाई अर्पण गर्नका लागि ५६ प्रकारका बेन्जनहरु तयार पार्ने चलन रहेको छ । यसमा तयार पारेका बेन्जनहरु भगवानलाई अर्पण गरिसकेपछि प्रसादको रुपमा खुवाउने चलन पनि रहेको छ ।

अन्नकुटमा प्रयोग हुने अधिकांश सामाग्रीहरू कृषि कर्मबाट उत्पादित रहने गरेको छ । नयाँ खाद्यान्नहरू यसमा बढी प्रयोग गर्ने चलन रहेको छ । जनकपुरधामको जानकी मन्दिर, राममन्दिर, जनक मन्दिर, विहारकुण्ड, अग्निकुण्ड, रत्नसागर सहितको मठ मन्दिरहरूमा भव्य रुपमा मनाउने गरिन्छ ।
जनकपुरधाममा हुने अन्नकुटको प्रसाद ग्रहण गर्नका लागि ठूला ठूला व्यक्तिहरू आफै मन्दिर पुग्ने गरेका छन् । जनकपुरधामको सीताकुण्डमा हजारौँ भक्तजनहरूले प्रसाद ग्रहण गर्ने गरेको सीता कुण्डका महन्थ एवं श्रीरामानन्दीय वैष्णव संघका वरिष्ठ उपाध्यक्ष रामनरेश दासले जानकारी दिनु भयो । एकपटक निम्तो र हकार दिएपछि भक्तहरू आफै वर्षै पिच्छे प्रसाद ग्रहणका लागि आउने गरेको महन्थ दासले जानकारी दिनु भयो ।
आज साँझ ६ बजेपछि अन्नकुटको भोग तथा प्रसाद वितरण जनकपुरधामको प्रायः जसो मठ मन्दिरमा हुने गरेको छ । अहिले अन्नकुटको तयारी मठ मन्दिरहरूमा भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्