पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ आजसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
छापिएका मध्ये प्रतिनिधिसभा तर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेशसभातर्फको मतपत्र ५० लाख २४ हजार रहेको पनि आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रतिनिधिसभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ भने प्रदेशसभाका लागि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ ।
आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ।
भोलि(बिहीबार)देखि समानुपातिक निर्वाचन प्रणालीतर्फको दोस्रो चरणको मतपत्र ढुवानी
समानुपातिक निर्वाचन प्रणालीतर्फ भोलि(बिहीबार)देखि दोस्रो चरणको मतपत्र ढुवानी शुरु हुने आयोगले जनाएको छ ।
पहिलो चरण अन्तर्गत प्रदेश नं.१, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ ।
निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्ला जिल्लामा पठाइसकेको पनि जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्