तपाईँ सुन्दै हुनुहुन्छः

गिरोहका ६ जना पक्राउ, चोरी भएका ५ मोटरसाइकल बरामद

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनासहित चोरी भएका ५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पर्साका विभिन्न स्थानबाट चोरीका मोटर साइकलसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक गिरीले जानकारी दिनुभयो ।

प्रहरीले वीरगन्ज महानगरपालिका १३ राधेमाई निवासी २१ वर्षीय सुमित कुशवाहा, वडा नम्बर १२ निवासी १९ वर्षीय राजन मण्डल, १९ वर्षकै अभय मण्डल, वडा नम्बर ११ रानीघाट निवासी २० वर्षीय नन्दन कुमार चौरसिया, वडा नम्बर १० घडिअर्वा निवासी २० वर्षीय रिकी मण्डल, पर्साको पोखरीया नगरपालिका ६ सिर्सिया निवासी २५ वर्षीय खरबुद आलमलाई ५ थान चोरीको मोटर साइकलसहित रंगेहात पक्राउ गरिएको गिरीले बताउनुभयो ।

अभियुक्तहरूले वीरगञ्जको विभिन्न स्थानबाट चोरी गरेका प्र.२–०३–००३ प ७५०९, ना.३७ प २०२४, ना.१८ प ४२१९, ना.४२ प ९८२९ नम्बरका मोटरसाइकल समेत बरामद गरिएको गिरीले बताउनुभयो ।

अभियुक्तहरूलाई चोरीसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button