तपाईँ सुन्दै हुनुहुन्छः

“साधनादेवी प्रहरी पराक्रम पुरस्कार”बाट २ जना प्रहरी कर्मचारी पुरस्कृत

सुनसरी । यस वर्षको १ लाख धनराशिको आठौँ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” प्रहरी सहायक निरीक्षक भक्त बहादुर बिष्ट र प्रहरी हवल्दार हुमेन्द्र प्रसाद यादवलाई प्रदान गरिएको छ ।

प्रदेश १ भरिबाट उत्कृष्ट कार्य गर्ने उनीहरुलाई ६७ औँ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो ।

पुरस्कृत भएका प्रहरी सहायक निरीक्षकले सुनसरी जिल्लाका विभिन्न स्थानबाट विभिन्न मितिमा ५ वटा पेस्तोलसहित मानिसहरू पक्राउ गर्न सफल भएको साथै कर्तव्य ज्यान जस्तो गम्भीर अपराधका ४ वटा मुद्दाका अभियुक्तलाई पक्राउ गरेको लगायत कामको उच्च मूल्याङ्कन गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले १ लाख धनराशिको साधनादेवी प्रहरी पराक्रम पुरस्कारबाट उहाँहरूलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुने प्रहरी द्वयले आफूबाट सम्पादित कार्यहरूको मूल्याङ्कन गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफूलाई छनौट गरिएबाट सङ्गठनले आफूलाई ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताउनुभयो ।

स्वर्गीय माताको सम्झनामा प्रहरीको मनोबल बढाउने उद्देश्यले यसरी पुरस्कृत गर्न पाएकोमा कोषका संस्थापक डा.विक्रम श्रेष्ठले आफु लगायत आफ्नो परिवार खुसी भएको बताउनुभयो ।

साथै, प्रहरी दिवसको अवसरमा साधनादेवी प्रहरी पराक्रम पुरस्कारका संस्थापक श्रेष्ठलाई प्रमुख अतिथि माननीय केदार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button