सुनसरीको चारवटै क्षेत्रमा आयो समानुपातिक तर्फको मतपत्र

सुनसरी । सुनसरीको चार प्रतिनिधि सभा र आठ प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको मत पत्र आएको छ ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली तर्फको सम्पूर्ण छ लाख एक हजार मतपत्र आएको हो ।
निर्वाचन आयोगले मतपत्र छपाइ सम्पन्न भएकाले यहाँको प्रतिनिधिसभा तर्फको समानुपातिक प्रणालीका लागि सुनसरीको क्षेत्र नम्बर १ मा एक लाख ५७ हजार, क्षेत्र नम्बर २ मा एक लाख ६५ हजार, क्षेत्र नम्बर ३ मा एक लाख ३८ हजार र क्षेत्र नम्बर ४ मा एक लाख ४१ हजार मतपत्र आइतबार आएको छ ।
समानुपातिक निर्वाचन प्रणाली तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आयोगको गाडीमा मतपत्र आएको निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
पहिलो चरणमा १८ जिल्लामा समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र पठाएको निर्वाचन आयोगले सुनसरीमा पनि मतपत्र पठाएको पौडेलले जानकारी दिनुभएको छ ।
पौडेलका अनुसार सुनसरीको प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ (क)मा ८० हजार, १ (ख)मा ७९ हजार, निर्वाचन क्षेत्र नम्बर २ (क) मा ९० हजार, २(ख)मा ७७ हजार, प्रदेश सभा क्षेत्र नम्बर ३ (क) मा ६९ हजार, ३(ख)मा ७१ हजार र क्षेत्र नम्बर ४ (क)मा एक ७६ हजार तथा ४(ख)मा ६८ हजार मतपत्र आइतबार निर्वाचन अधिकृतको कार्यालयमा आएको छ ।







प्रतिक्रिया राख्नुहोस्