सामान्य, संवेदनशील र अति संवेदनशील निर्वाचन क्षेत्रको पहिचान गरी सुरक्षा व्यवस्थाको प्रबन्ध

काठमाडौँ । मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र स्वच्छ वातावरणमा सम्पन्न गर्ने गरी सरकारले सुरक्षा व्यवस्था मिलाएको छ ।
सामान्य, संवेदनशील र अति संवेदनशील निर्वाचन क्षेत्रहरूको पहिचान गरी सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको नेपाल प्रहरीले जनाएको छ ।
मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ १ सय ६५ र प्रदेशसभाका ३ सय ३० सिटका लागि चुनावी प्रतिस्पर्धा हँुदैछ ।
निर्वाचन भयरहित बनाउन सुरक्षा व्यवस्था चुस्त, दुरुस्त र देशैभर केन्द्रीकृत सुरक्षा योजना अनुसार १ लाख १५ हजार म्यादी प्रहरी, ७१ हजार ६ सय ९३ नेपाल प्रहरीका साथै नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले सुरक्षा प्रदान गर्नेछन् ।
अति संवेदनशील क्षेत्र ३४ सय १२, संवेदनशील ४ हजार ४ सय २० क्षेत्र तथा अन्य सुरक्षाका दृष्टिले सामान्य क्षेत्र छुट्टयाएका छौँ।’’
नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता प्रहरी नायव महानिरीक्षक, डिआइजी टेकप्रसाद राईले भौगोलिक विकटता, सञ्चार तथा प्राविधिक समस्या, दलहरूका विगतका पृष्ठभूमि र गतिविधि, अन्तरपार्टी विवाद, निर्वाचन क्षेत्रमा पार्टीको बाहुल्यता लगायतका विषयलाई आधार मानेर सामान्य, संवेदनशील तथा अति संवेदनशील निर्वाचन क्षेत्रको पहिचान गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘‘अति संवेदनशील क्षेत्र ३४ सय १२, संवेदनशील ४ हजार ४ सय २० क्षेत्र तथा अन्य सुरक्षाका दृष्टिले सामान्य क्षेत्र छुट्टयाएका छौँ।’’
प्रहरी प्रवक्ता डिआइजी राईका अनुसार, नेता तथा कार्यकर्ताहरूले गर्ने हेट स्पिच, सामाजिक सञ्जालमा जथाभाबी भिडियो, अडियो, फोटो राख्दा सृजना हुन सक्ने झडपको अवस्था, चुनावी सभा, माइकिङ जस्ता कार्यक्रममा दुई पक्षबीच हुने संभावित झडप नै मतदान पूर्वका मुख्य चुनौती हुन् ।
विगतमा जस्तो चुनाव बहिष्कार गर्ने पार्टी अहिले नभएकाले विष्फोट हुने, बन्द हड्ताल जस्ता गतिविधि नहुने साथै प्रहरीले गस्ती पेट्रोलिङ, सादा पोसाकमा प्रहरी परिचालन, सीमा नाकामा कडा सुरक्षा व्यवस्थाले सुरक्षा चुनौती कम रहेको प्रवक्ता राईले बताउनुभयो ।
मङ्सिर ४ गते हुने निर्वाचनमा शान्तिपूर्ण, भयरहित र स्वच्छ वातावरण निर्माण गर्नु सुरक्षा निकायको मात्र होइन, राजनीतिक दलहरू र आम नागरिकको पनि महत्त्वपूर्ण दायित्व भएकाले त्यसतर्फ सबैको ध्यान पुग्न आवश्यक छ ।







प्रतिक्रिया राख्नुहोस्