तपाईँ सुन्दै हुनुहुन्छः

हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक : राष्ट्रपति  

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हातको स्वच्छता स्वास्थ्यको दृष्टिले अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

विश्व हात धुने दिवस, १५ अक्टोबरका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाहरूमा स्वच्छ र स्वस्थ जीवनका शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले हात सफा नभएका कारणले नै अनेक सङ्क्रमणहरू भई विश्वभर कैयौँ मानिसहरूले जीवन गुमाउनुपरेको बताउनुभयो । 

उहाँले साबुन पानीले हात धुँदा श्वासप्रश्वासजन्य रोग एवं निमोनियाँ सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने भन्नुहुँदै  इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणु एवं विषाणुद्वारा लाग्ने रोगबाट बच्न सकिने तथ्य अध्ययनहरूले देखाएका पनि बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने प्रमुख उपायहरू मध्ये हातको सरसफाइ पनि एक हो भन्नुहुँदै राष्ट्रपति भण्डारीले कोरोना भाइरस ९कोभिड–१९० महामारी अझै पनि रहिरहेकोले तीनै तहका सरकार, विभिन्न सामाजिक सङ्घसंस्थाका साथै निजी क्षेत्रले सञ्चालन गर्दै आएका हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक रहेको बताउनुभयो । 

उहाँले सबै नेपालीहरूले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा आव्हान समेत गर्नुभएको छ । 

संयुक्त राष्ट्र सङ्घको आव्हानमा सन् २००८ अक्टोबर १५ तारिखदेखि मनाउन सुरु गरिएको विश्व हात धुने दिवस आज ‘हातको स्वच्छताको लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वभर मनाइँदै छ । 

यस अवसरमा नेपालमा पनि नेपाल सरकारको अग्रसरतामा ‘हात धुने बानी व्यवहार स्वस्थ र सभ्य जीवनको आधार’ भन्ने उद्घोषसहित विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button