चाडबाड नजिकिएसँगै प्रायः सुनसान देखिन ग्रामीण बस्तीहरूमा चहलपहल बढ्यो

अछाम । चाडबाड नजिकिएसँगै जिल्ला बाहिर रहेकाहरू गाउँमा फर्केपछि अछाममा चहलपहल बढेको छ ।
मजदुरी, रोजगारी तथा पढाइको सिलसिलामा जिल्ला बाहिर रहेकाहरू बडादसैँ तथा दीपावलीको अवसर पारी गाउँ फर्किएसँगै प्रायः सुनसान देखिन ग्रामीण बस्तीहरूमा चहलपहल बढेको पाइएको हो ।
काम तथा मजदुरीको सिलसिलामा भारतलगायत अन्य ठाउँमा रहेका, पढाइको लागि काठमाडौँ धनगढी, नेपालगञ्ज लगायतका ठाउँमा रहेकाहरू दशैँतिहार मनाउन घर फर्केका हुन् । बर्षौसम्म घरबाहिर रहेकाहरू पनि दसैँ मनाउन घर फर्केपछि आफन्तजनमा समेत खुसी देखिन्छ ।
नौ वर्षपछि भारतबाट अछाम आएर दसैँ मनाएका मङ्गलसेन –६ का देबिराम भण्डारीले परिवारसँग दसैँ मनाउन पाउँदा खुसी लागेको बताउनुभयो ।
यस्तै सोही ठाउँका गोकुल भण्डारीले पनि १० वर्षपछि परिवार तथा आफन्तजनसँग दसैँ मनाउन पाउँदा निकै खुसी भएको बताउनुभयो । उहाँहरू दुवै जना आफ्नो बालबच्चासहित भारत रहँदै आउनुभएको थियो ।
वर्षौँसम्म बाहिर रहेर घर फकिँदा सबै आफन्तजनसँग भेटघाट हुँदा पुराना दिनको याद आउने गरेको उहाँहरूले बताउनुभएको छ ।
अछाम जिल्लामा करिब ३० हजार दसैँ तिहार मनाउन घर फर्किएका अनुमान गरिएको छ । अहिले ग्रामीण क्षेत्रमा निकै चहलपहल बढेको छ ।







प्रतिक्रिया राख्नुहोस्