तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामको प्रसिद्ध धार्मिक तलाउ गंगासागरमा तर्पण गर्नेको भिड

जनकपुरधाम । हिन्दुहरूले दिवङ्गत पितृप्रति श्रद्धाभाव प्रकट गर्ने सोह्र श्राद्ध अन्तर्गत आजदेखि पितृ तर्पण सुरु भएको छ ।

हिन्दुहरूको सबैभन्दा ठूलो दसैँ, दीपावली तथा छठ पर्व गर्नु भन्दा अगाडी दिवङ्गत पितृप्रति श्रद्धाभाव प्रकट गर्दै तर्पण, पिण्डदान मिथिलामा सुरु भएको छ ।

सोह्र श्राद्धको पहिलो दिन बाबुआमा नभएकाहरूले हिजो अगस्तमुनि सहितका अन्य देवताको स्मरण गर्दै तर्पण गरेपछि मिथिलामा सोह्र श्राद्ध सुरु हुने चलन छ । जनकपुरधामको प्रसिद्ध धार्मिक महत्त्वको गंगासागरमा तर्पणका लागि बिहानदेखि नै टुहुराहरूको ठूलो भिड लागेको थियो । अन्य धार्मिक पोखरीहरूमा पनि तर्पण गर्नेहरूको भिड थियो ।

पहिलो दिन खरको भुवा, काक्रो, द्रव्य तथा शङ्ख हातमा लिएर ऋषि मुनिप्रति श्रद्धा प्रकट गरेर तर्पण गरे पनि आजदेखि कुश हातमा लिएर तिल लिएर दिवङ्गत पितृहरूको तर्पण गरेका छन् । गंगासागरमा अगस्तमुनिको तर्पणका लागि नेपाल भारतको विभिन्न भागबाट ठूलो सङ्ख्यामा भक्तहरू जनकपुरधाम आए पनि आज स्थानीयवासी सहभागी भएका छन् ।

प्रत्येक वर्ष भाद्र कृष्णपक्ष प्रतिपदाबाट पितृ तर्पण सुरु हुने गरेका छन् । अन्ति तर्पण असोज ९ गते अर्थात् घटस्थापना भन्दा एक दिन अगाडी औँसी तिथिका दिन सम्पन्न हुने कार्यक्रम रहेको पण्डित शोभाकान्त झाले जानकारी दिनुभयो ।

यस अवधिमा बुबाको मृत्यु भएको तिथिका दिन पिण्डदान सहित श्राद्ध गरेर ब्राह्मण भोजन गराई दक्षिणा दिने चलन मिथिला क्षेत्रमा रहेको छ ।

हातमा पवित कुशको तेकुशा, मोडा, औँठी सहितका कुशका परिकारहरू लिएर तिल सहित दिवङ्गत पितृहरूको स्मरण गरेर तर्पण गर्ने चलन रहेको छ । जनकपुरधामको गंगासागरमा प्रत्येक दिन नै तर्पण गर्नेहरूको भिड रहने गरेको पण्डितहरूले जानकारी दिएका छन् ।

यसका साथै जनकपुरधामको धनुषसागर, अग्निकुण्ड, रत्नसागर, विहार कुण्ड, दुग्धमति, धनुषाको कमला नदिमा पनि तर्पण गर्नेहरूको बिहानदेखि नै भिड रहने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button